Wednesday, September 12, 2012

बढी मूल्य लिनेलाई निगमको कारवाहीको नाटक

काठमाडौ, भदौ २७ – आयल निगम कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले बढी मूल्यमा तेल बिक्री गर्ने पम्पलाई कारबाही गर्न मंगलबार मंगलबार डिपो प्रमुखलाई निर्देशन दिएका छन् । ‘तपाईंको डिपोबाट १५ किलोमिटरभित्र बढी मूल्यमा तेल बिक्री गर्ने पम्पलाई तेल दिन बन्द गर्नुहोस्,’ उनले भने,  ‘बढी मूल्यमा तेल बिक्री गरेको भेटिए तपाईंलाई नै कारबाही हुन्छ ।’ उनले नेपालगन्ज डिपो प्रमुख सीताराम पोखरेल, भैरहवाका प्रमुख नागेन्द्र कुर्मी लगायतलाई बढी मूल्यका तेल बिक्री गरेको भेटिए जिल्ला प्रशासनको समन्वयमा कारबाही गर्न फोनबाटै निर्देशन दिएका हुन् । ‘हामीले बढी मूल्यमा तेल बिक्री गर्ने पम्पलाई आपूर्ति रोक्न निर्देशन दिएका छौं,’ उनले भने, ‘गैरकानुनी कामलाई वैधानिकता दिन सकिँदैन ।’

नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले देशभरका व्यवसायीलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर बिक्री गर्न निर्देशनपछि व्यवसायीले ५० पैसादेखि एक रुपैयाँसम्म मूल्य बढाएर तेल बेचिरहेका छन् । निगमका प्रवक्ता मुकुन्द ढुंगेलले निगमले तोकेभन्दा बढी मूल्यमा तेल बिक्री नगर्न एसोसिएसनलाई पत्र पठाइसकिएको बताए । ‘हामीले एसोसिएसनलाई बढी मूल्यमा तेल बिक्री नगर्न निर्देशन दिइसकेका छौं,’ उनले भने, ‘तोकिएभन्दा बढी मूल्यमा तेल बिक्री गरे आपूर्ति रोक्ने चेतावनी दिइसकेका छौं ।’ व्यवसायीले भैरहवा, बुटवल र दाङमा  प्रतिलिटर एक रुपैयाँ थपेर पेट्रोलियम पदार्थ बेचेका छन् । यस्तै नेपालगन्जमा ७५ पैसा र वीरगन्ज र अमलेखगन्ज क्षेत्रमा २५ पैसा बढाएर बिक्री गरिएको छ । विराटनगर, पोखरा, धनगढीलगायत क्षेत्रमा प्रतिलिटर पेट्रोलियम पदार्थ बेच्दा ५० पैसा जोडेर लिने गरिएको छ । काठमाडौं उपत्यकामैै प्रतिलिटर २५ पैसा थप लिइएको छ ।  निगमले आफ्नो डिपोबाट १५ किलोमिटरभित्रको दुरीमा उसले तोकेको मूल्यमा तेल बेच्नुपर्ने व्यवस्था गरेको छ । यो दुरीभन्दा बाहिरका पेट्रोल पम्पले भने स्थानीय प्रशासनको सहमति लिई ढुवानी भाडा थपेर तेल बेच्न सक्छ । तर एसोसिएसनको निर्देशनपछि व्यवसायीले १५ किलोमिटरभित्रै पनि थप मूल्य लिएर तेल बेचिरहेका छन् ।  




No comments:

Post a Comment