Saturday, September 29, 2012

वैद्यले रोके गाडी , फेरी अभाव

काठमाडौं – नेकपा–माओवादीले भारतीय नम्बरका सवारीसाधनलाई नेपालमा प्रतिबन्ध लगाउँदा सर्वसाधारणलाई आवश्यक पर्ने खाना पकाउने ग्यास तत्काल अभाव हुने भएको छ । यो अवरोधले जलविद्युत, पूर्वाधार निर्माणदेखि तरकारी फलफूललगायत दैनिक उपभोग्य सामग्री आयातसमेत प्रभावित हुनेछ । मोहन वैध समूहको माओवादीले बिहीबारबाट भारतीय नम्बर प्लेटका गाडीलाई नेपालमा चल्न नदिने घोषणा गरेका छन् । सामान बोकेर आएका भारतीय नम्बर प्लेटका गाडीले नेपालको सीमा (भन्सार) नाकामा अनलोड गर्नुपर्ने र त्यहाँबाट नेपाली गाडीले बोक्नुपर्ने माग राखेका छन् । ग्यास बोक्ने गाडी (बुलेट) नेपाली नभएकाले सबै भारतीय गाडीमा निर्भर छ ।‘भारतीय गाडी चल्न नदिने भनेपछि भारतीय ढुवानीकर्ताले यसबारे हामीलाई सोधेको सोध्यै छन्,’ ग्यास उद्योग संघका महासचिव कुश मल्लीले भने, ‘राजनीतिक निर्णयबाट उपभोक्ताले ग्यासै नपाउने अवस्था आउँछ ।’
मुलुकमा दैनिक ३५ देखि ४० टन ग्यास आयात हुने गर्छ । ग्यासलाई भन्सार नाकामा ल्याएर खन्याउने विकल्पसमेत नभएको बताउँदै उनले अत्यन्तै संवेदनशील वस्तु रोक्दा सबै उपभोक्ता प्रभावित हुने जानकारी दिए । भारतीय गाडी चल्न नदिने निर्णयसँगै बुधबार १२ बुलेट हेटौंडामा रोकिएका उनले बताए ।‘यो निर्णयपछि ग्यास ल्याउन समस्या परेको बारे सरकारलाई जानकारी गराइसकेका छौं,’ मल्लीले भने, ‘सरकारको निर्णयबिना जोखिम मोलेर ग्यास ल्याउन कठिन हुन्छ ।’ उनका अनुसार अहिले केही दिन ग्यास आउन रोकिए दसैं–तिहारमा अभाव हुने निश्चित छ । दुई सातादेखि मुलुकको मागअनुसार ग्यास आउनै सकेको छैन । झन् आउन नदिने निर्णयले हाहाकार मच्चिन सक्छ । आयल निगमका प्रवक्ता मुकुन्द ढुंगेलले ग्यास आयात रोकिनु राजनीतिक कारण भएकाले निगम तहबाट समस्या हल गर्न नसकिने प्रष्ट पारे । ‘यो राजनीतिक मुद्दामा अवरोध हो, हामी समाधान गर्न सक्दैनौं,’ उनले भने । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारकाले भारतीय गाडी रोकेर सामान ल्याउनै नसकिने बताए । ‘सीमामा सामान अनलोड गरेर नेपाली गाडीमा ल्याउनै सकिँदैन । यसबाट सामान लागत बढ्छ,’ उनले भने, ‘सीमाबाट सामान ल्याउन हामीसँग त्यस्ता गाडी नै छैनन् ।’भारतीय नम्बर प्लेटका गाडी आउन नदिँदा जलविद्युत आयोजना र ठूला परियोजना प्रत्यक्ष प्रभावित हुने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष जयराम लामिछानेले बताए । ‘भारतीय गाडीले मात्रै जलविद्युत पावरहाउसमा आवश्यक पर्ने पेनस्टक पाइप ल्याउन सक्छ,’ उनले भने, ‘गाडी रोकेपछि यस्तो पाइप आउन नसकेर जलविद्युत आयोजनामा ढिलाइ हुन्छ ।’ उनका अनुसार ठूला परियोजनामा आवश्यक सामान पनि नेपाली गाडीले बोक्नै सक्दैनन् । नेपाली गाडीको मापदण्ड नपुगेकाले पुलपुलेसा नै भत्किन सक्छ । भारतीय गाडीमा मल्टिपल एक्सेल हुन्छ । यस्ता गाडीको एउटा चक्कामा १० टनमात्रै धान्ने गरी बनाइएको हुन्छ । तर, नेपाली गाडी एउटा एक्सेलको मात्रै हुँदा एकै ठाउँमा बढी लोड भएर पुल भत्किने सम्भावना बढी हुन्छ ।
नेपाल फलफूल थोक बिक्रेता महासंघका अध्यक्ष नारायण धितालले भारतीय गाडी अवरोधले बुधबारै २० गाडी बाटोमै रोकिएको जानकारी दिए । ‘यसले फलफूल आपूर्तिमा ठूलो प्रभाव पार्छ,’ उनले भने, ‘सीमाबाट नेपाली गाडीमा ल्याउँदा धेरै नष्ट हुने सम्भावना हुन्छ ।’
भारतबाट अनार, कागती, केरा, स्याउ, उखुलगायत फलफूल यहाँ आउँछ । अहिले हरियो तरकारीमा नेपाल निर्भर छ । भारतीय गाडी चल्न नदिँदा महँगा सवारीसाधन र मोटरसाइकल ल्याउन समस्या हुन्छ । मोटरसाइकल भारतीय नम्बर प्लेटकै गाडीमा ढुवानी हुन्छ ।‘अधिकांश मोटरसाइकल भारतीय गाडीमै ल्याइन्छ । अचानक बन्द गर्दा ल्याउन समस्या हुन्छ,’ एक व्यवसायीले भने, ‘दसैं लक्ष्य गरी बिक्री गर्ने योजना समस्यामा परेको छ ।’ महँगा सवारीसाधन बोकेको भारतीय नम्बर प्लेटका गाडी वीरगन्ज भन्सारमा नखोली सिधै काठमाडौं आउने गर्छ ।
निर्णय दूर्भाग्यपूर्ण
नेपाल उद्योग वाणिज्य महासंघले भारतीय नम्बर प्लेटका गाडी रोक्ने निर्णय राष्ट्रका लागि दूर्भाग्यपूर्ण हुने बताएको छ । ‘नेपाल–भारतबीच सदियौंदेखि आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध रहेको अवस्थामा यस्ता अनधिकृत, गैरकानुनी र अराजक निर्णयबाट कसैको भलो हुँदैन,’ महासंघले बिहीबार जारी गरेको विज्ञप्तिमा छ, ‘आपसी सम्बन्धमै खलल पार्न सक्ने यस्तो गैरजिम्मेवार निर्णयप्रति गम्भीर हुन आग्रह गर्छौं ।’महासंघले गाडी रोक्ने क्रियाकलापप्रति खेद व्यक्त गरेको छ । दुई देशबीचको प्रगाढ कुटनीतिक सम्बन्ध र आर्थिक संवेदनशीलता मनन गरी निर्णय फिर्ता लिन महासंघले माग गरेको छ । त्यसै गरी नेपाल चेम्बर अफ कमर्सले भारतीय नम्बर प्लेटका गाडी चल्न अवरोध पु¥याउने निर्णयप्रति ध्यानाकर्षण भएको जनाउँदै यस्ता कार्यक्रममा पुनर्विचार गर्न आग्रह गरेको छ । ‘यो निर्णयले आन्तरिक तथा वाह्य लगानीसमेत प्रभावित हुन्छ, त्यही भएर पुनर्विचार गर्न आग्रह गर्छौं,’ चेम्बरले जारी गरेको विज्ञप्तिमा छ, ‘यसले दसैं, तिहार र छठका बेला भारत र तेस्रो मुलुकबाट आयात हुने सामानमा प्रत्यक्ष प्रभाव पार्ने छ ।’

No comments:

Post a Comment