Tuesday, November 27, 2012

यसरी सकियो तयारी पोसाक उद्योग

काठमाडौं–मुलुकमा पाँच वर्षदेखि एउटा पनि नयाँ तयारी पोसाक उद्योग खुलेका छैनन् । राजनीतिक अस्थिरता र अमेरिकामा कोटा खारेजीलगायत कारण उद्योग नखुलेका हुन् ।‘त्यति लामो अवधिमा एउटा पनि तयारी पोसाक उद्योग खुल्न सकेन । राम्रो माग नआएपछि उद्योगलाई ‘पार्ट टाइम’ मात्रै गरिरहेका छांै,’ नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष उदयराज पाण्डेले भने, ‘डिमान्ड कुरेर बस्यो आउँदैन । नआएपछि उद्योग छोडेर अन्य व्यवसाय गर्नुको विकल्प छैन ।’ तयारी पोसाक उद्योग पुनरुत्थानको सम्भावना कम हुँदै गएकाले नयाँ लगानीकर्ता नआएको उनले बताए ।‘हाम्रोमात्र होइन अरू निकासीमूलक उद्योगको पनि यस्तै हालत छ,’ उनले भने, ‘अहिले धेरै निकासीकर्ता पार्ट टाइममात्रै उत्पादन गर्छन् ।’ हाल ३५ तयारी पोसाक उद्योगमात्र सञ्चालन छन् । विगतमा चलिरहेका उद्योग धमाधम बन्द भएका थिए । पछिल्लो पटक मजदुर हडतालका कारण बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल गार्मेन्ट बन्दै भयो । यी उद्योगमध्ये कुनै पनि बाह्रै महिना चल्दैनन् । तयारी पोसाक माग आएपछि उद्योग चलाउने र नभए बन्द हुने गरेको छ ।

Sunday, November 25, 2012

रुविन मल बेचेको होइन नयाँ पार्टरन भित्र्याएका हौ– महतो

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो सधै चर्चामा रहन्छन् ।  पहिलेको सोभियत संघबाट   व्यावसायिक क्षेत्रमा प्रवेश स्थापित भइसकेका महतो पछिल्लो समय नेपालमा पनि व्यवसाय विस्तारमा लागेका छन् । यसमा उनले स्थानीय, गैर आवासीय नेपाली र विदेशी लगानीकर्तालाई पनि सँगसँगै लिएर अघि बढेका छन् । जन्मले नेपाली भएको नाताले मातृभूमिको आर्थिक तथा सामाजिक समृद्धिमा आफ्नो विशेष चासो रहेको महतो दाबी गर्छन । पछिल्लो समयमा उनले मस्कोमा रहेको सबैभन्दा बढी चल्ने रुविन मल राजनीतिक दबाबका कारण बिक्री गरेको चर्चा वाहिर आएको थियो । मुलुकको राजनीतिक वातावरण, लगानी विविधिकरण लगायतका बारेमा गरिएको कुराकानी

हालै सार्वजनिक भएको एक प्रतिवेदनअनुसार नेपालमा ‘बिजनेस कन्फिडेन्स’ न्यून भएको देखिन्छ । यस्तो अवस्थामा थप लगानी गर्न खोजिरहनुभएको छ ?
लगानी वातावरण विकसित मुलुक अमेरिका, बेलायतसँग दाँजेर हुँदैन । कम्बोडिया, लाओस र अफ्रिका लगायतका विकासोन्मुख मुलुकमा लगानी दुई किसिमले आउने रहेछ । विकासोन्मुख देशको एकदमै धनी मुलुक  अमेरिका, बेलायत, चीन लगायतका द्विपक्षीय सम्बन्धकै आधारमा ती मुलुकमा विदेशी लगानी ठूलो मात्रामा ल्याइदिन्छ र अन्तर्राष्ट्रिय बजारमा लबिङ पनि गर्छ । त्यसले गर्दा विदेशी लगानी बढी आउँछ र विश्वास बढेर आउँछ । यसले स्थानीय लगानी बढाउन सहयोग गर्छ ।  अर्को  भनेको जुन देशमा आफ्नै लगानीकर्तालाई प्रोत्साहित गर्ने र उनीहरुको विश्वास बढाउने हुन्छ । लगानीका लागि राजनीतिक अवस्था स्थायी पनि चाहिन्छ । तर त्यसलाई मात्रै जोड गर्दा कहिल्यै स्थायी पनि हुँदैन । राजनीति भनेको आर्थिक अवस्थाको प्रतिबिम्ब हो । राजनीतिक अवस्थाको प्रतिबिम्ब आर्थिक होइन । जबसम्म आर्थिक रुपमा बलियो हुँदैन राजनीतिक स्थिरता शान्ति र स्थिरताको कुरामा मात्रै रहन्छ र सैद्धान्तिक कुरा हुन्छ ।  नेपालको अहिलेको संक्रमणकालमा विदेशी लगानीकर्ताले लगानी गर्ने वा लबिङ गर्ने सम्भावना अत्यन्तै न्यून छ । यस्तो जटिल अवस्थामा  नेपालका लगानीकर्तालाई अलि बढी प्रोत्साहित गर्नुपर्छ । अर्को गैरआवासीय नेपालीहरु जसले विदेशमा लगानी र  सीप सिकेर लगानीको बारेमा बुझेका छन् । उनीहरुको लगानी र सीप भिœयाउनेतर्फ सरकारले ध्यान दिनुपर्छ । स्वदेशी र गैरआवासीय नेपालीको लगानी आएमा विदेशी लगानी पनि आउँछ ।

Monday, November 5, 2012

चीनको अवरोधले जाडोका कपडा आएनन्

काठमाडौ– चिनियाँ कंग्रेसको महाधिवेशनको सुरक्षालाई भन्दै नेपाली गाडी जान कडाइ गरेपछि तिहार र जाडोयामका लत्ताकपडा खासामा थन्किएका छन् । ‘नेपाली गाडीलाई कडाइ गरेर धेरै जान सकेको छैन । धेरै सामान खासामा रोकिएर बसेको छ,’ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले भने, ‘तिहार र जाडोयामको कपडा धेरैजसो खासामा थन्किएर बसेका छन् ।’ दसैंको विदापछि नेपालतर्फको भन्सार खुलेको केही दिनपछि तिहारको सामान ल्याउन थालिएको थियो । केही दिनदेखि कन्टेनर जान कडाइ गरेपछि तिहारको सामान नआउने चिन्तामा व्यवसायी छन् । ‘सिजनको सामान समयमा ल्याउन सकिएन भने करोडौं नोक्सानी हुन्छ । तिहारमा आउनुपर्ने सामान अहिलेसम्म ल्याउन सकिएको छैन,’ चिनियाँ सामानको व्यापार गर्ने एक व्यवसायीले भने । उनका अनुसार केही दिन सामान नआएमा तिहारको सामान बिक्री गर्नै सकिँदैन । तिहारको बेलामा चीनबाट इलोक्ट्रोनिक्स सामान, स्याउ लगायत सामान बढी आउँछ ।

डेढ अर्ब नपाए तिहारपछि तेल अभाव



काठमाडौं –इन्डियन आयल कर्पोरेसन(आइओसी)को बक्यौता बढ्दै गएपछि आयल निगमले सरकारसँग डेढ अर्ब रुपैयाँ माग्ने तयारी गरेको छ । सेप्टेम्बर, अक्टोबर र  नोभेम्बरसम्म आइओसीलाई डेढ अर्ब रुपैयाँ तिर्नुपर्ने भएपछि सरकारसँग रकम माग गर्न लागिएको हो ।‘तेल ल्याएको रकम बढ्दै गएपछि हामी उधारो तिर्न सरकारसँग माग्दैछौं,’ निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले भने । निगमले मंगलबार वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आवश्यक रकम माग गरेर पत्र पठाउँदैछ । ‘हामीले साउन, भदौ, असोजमा उपभोक्तालाई सहज रुपमा तेल आपूर्ति ग¥यो,’ उनले भने, ‘तिहारपछि तेलको सहज आपूर्तिका लागि हामीले रकम माग गर्न लागेका हौं ।’साउन, भदौ र असोजको मात्रै एक अर्ब रुपैयाँ रकम आइओसीलाई तिर्न बाँकी छ ।