Tuesday, September 25, 2012

हामी पछुताउने अर्को निर्णय

काठमाडौ – सहुलियत यो सरकारको जिब्रोमा झन्डिएको शब्द हो । प्रधानमन्त्री बाबुराम भट्टराईले यही शब्द भजाइरहेका छन् । सस्तो लोकप्रियताको लागि भट्टराईले सुरु गरेको सहुलियत नीतिले मुलुकको अर्थव्यवस्थालाई दीर्घकालिन रुपमा असर गर्छ । गरीबी कार्ड, विद्यार्थीलाई सहुलियत, अब ग्यासमा दुई थरी सिलिन्डर यो सबै सहुलियतको नाममा विकृती ल्याउने र मुलुकको अर्थतन्त्रलाई गञ्जागोल बनाउने प्रयास मात्रै हो । विगतमा पनि गरीब जनताको लागि भनेर मट्टितेलमा अनुदान दिइएको थियो । त्यो अनुदान विपन्न वर्ग भन्दा हुनेखाने र ठुलाठालुको हातमा गयो । मट्टितेलको उपभोक्ता सहुलियतकै कारण २० प्रतिशतले बढे । कुपन बोरामा हालेर पेट्रोल पम्प व्यवसायीले त्यही मट्टितेल पम्पमा लगेर खन्याए जसले तेल क्षेत्रलाई बदनाम गरायो ।
अहिले सरकारले दुई थरी सिलिन्डर बनाउने  जिद्धी गरिरहेको छ ।
कात्तिकदेखि दुई थरी सिलिन्डर बनाउने र घरेलु उपभोक्तालाई रातो र व्यवसायीकलाई निलो रंग बनाउने उद्घोष गरेको छ । यो जिद्धीले ग्यास क्षेत्रमा विकृती मौलाउनेछ । अनुगमन गर्ने निकाय नभएको अवस्थामा व्यवसायिक क्षेत्रले रातो सिलिन्डर प्रयोग गरे के हुने ? कुन निकायले कारवाही गर्ने ? कस्तो कारवाही हुने ? यस्ता धेरै अनुत्तरित प्रश्नहरु छन् । सहुलियत आम जनताको पक्षमा नभई फेरी त्यही ठुला ठालु वर्गमा पुग्नेछ । आयल निगमका अधिकारीहरुका लागि यही सहुलियत कमाई खाने भाडो बन्नेछ भने उपभोक्तावादीहरुका सबैभन्दा दरिलो स्रोत । हाम्रो समाज घरबाट बाबुले कुनै सामान किन्न पठाउँदा केही रकम लिने वर्गमा पर्छ । आफ्नै बाबुको पैसा केही भएपनि लुकाएर खाने वर्चस्व भएको राज्यले दिएको सहुलियतको के हविगत होला त्यो सहजै भन्न सकिन्छ । पछिल्लो समयमा डिजेल र मट्टितेलको मूल्य एउटै भएपछि केही हदसम्म भएपनि तेलको विकृती हटेको थियो । अब ग्यासबाट त्यही विकृतीको पुनरावृति हुँदैछ । सस्तो लोकप्रियताको लागि गर्न खोजिएको यो अनुदान नीतिले अर्थतन्त्रलाई ध्वस्त पार्नेछ । हामी कुनै योजना र भबिष्यमा आउने नकारात्मक प्रभावको कुनै अध्ययन नगरी कार्यान्वयन गर्छौ र पछुताउँछौ । यो हाम्रो नियती बनिसकेको छ ।

No comments:

Post a Comment