Friday, August 31, 2012

लोकप्रियताको पारो बढाउँदा शुन्यमा झर्ला है प्रधानमन्त्री ज्यू

काठमाडौ, भदौ १६
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागिरहेको छ । मूल्य उकालो लाग्नुको मुख्य कारण अमेरिका र युरोपले इरानलाई लगाएको नाकावन्दीनै प्रमुख हो । मूल्य उकालो लागेपछि सरकारको स्वामित्वको नेपाल आयल निगम घाटा बढ्दैछ । अगस्ट १५मा इन्डियन आयल कर्पोरेसनले पठाएको मूल्य अनुसार निगमको घाटा ४१ करोड भन्दा बढी थियो । सेप्टेम्बरमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अझ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रवार मात्रै कच्चा तेलको मूल्य एक ब्यारलको १ सय १४ डलर ७४ सेन्ट पुगिसकेको छ । आइओसीले सेप्टेम्बरमा पठाउने नयाँ मूल्यले निगमको घाटा ७० करोड भन्दा माथि हुनेछ । यो घाटापछि निगमका लागि दुई वटा मात्रै विकल्प छ । मूल्यवृद्धि वा सरकारको अनुदान ।
पूर्ण बजेट नआएकोले निगमले अनुदान पाउने सम्भावना कम छ । निगमले मूल्यवृद्धि वा अनुदानको दुई विकल्प सरकारका सामू पेस गरिसकेको छ । तर प्रधानमन्त्री बाबुराम भट्टराई मूल्य बढाएर आफ्नो लोकप्रियताको पारो अझ घटाउन चाहदैनन् जसका कारण उपभोक्ताले तेलको लागि लाइन लाग्नुपर्ने बाध्यता फेरी सुरु हुँदैछ । एक लिटर तेल लिन घन्टौ लाइन देखि दशैमा ग्यास नपाएर आक्रान्त बन्नुपर्ने सम्भावना पनि छ ।
प्रधानमन्त्री भट्टराईले मूल्य बढाउन नदिएर आफ्नो लोकप्रियताको पारो घट्न नदिने मनसाय बनाएपनि दशैमा उपभोक्ताले ग्यास नपाएर उनको लोकप्रियता शुन्यमा झर्ने हो हेर्न बाँकी छ । प्रधानमन्त्री भट्टराईले यतिखेर इराननै गएका छन् । उनले इरानसँगै तेलको सम्झौता गरेर नेपाल ल्याउने सपना पालेर यी विकल्पहरु नसोचेका हुन् की ?

Thursday, August 30, 2012

विदेशबाट फर्किएकाको शिक्षामन्त्रीले गरे प्रशंशा, गाईपालन र कृषि फर्म मात्रै होइन अरु सीप चाहियो


गैरआवासीय नेपाली संघ एनआरएनको सातौ क्षेत्रीय सम्मेलन सिड्नीमा सुरु भएको छ ।
स्थानीय होटल मेन्जिजमा तीन दिनसम्म चल्ने सम्मेलनमा शिक्षामन्त्री दिनानाथ शर्माले एनआरएनहरुलाई नेपालमा पूंजी र सीप लगानी बढाउन आग्रह गरे ।
 उनले नेपालमा इन्जिनियरिङ कलेज, मेडिकल कलेज, पोलिटेक्निक कलेजमा लगानी गर्न एनआरएनलाई आग्रह गरे ।  ‘नेपाली बिदेश आएर पैसामात्र कमाएका छैनन्,’ शर्माले भने, ‘नेपालीले धेरै सीप र सभ्यता सिकेका छन् ।  बिदेशबाट फर्कर गाइपालन, कृषि फर्म सञ्चालन उदाहरणीय बनेका छन् ।’
राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाले एनआरएनले नेपालीकै रुपमा र प्रत्यक्ष वैदेशिक लगानीका रुपमा पनि नेपालमा लगानी गर्नसक्ने बताए ।
सम्मेलनमा उद्योगमन्त्री अनिलकुमार झा र पूर्वमन्त्री भीम रावलले राजनीतिक सहमतिको वातावरण बनिरहेकोले सकारात्मक सोच्न गैरआवासीय नेपालीलाई आग्रह गर्नुभएको थियो ।
एनआरएनका संस्थापक डा. उपेन्द्र महतो, एनआरएन अध्यक्ष जीवा लामिछाने, नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार लगायतले अब एनआरएनले योजना बनाउने होइन कार्यान्वयन गरेर विश्वासको वातावरण बढाउनुपर्ने बताउनुभयो । एनआरएनका पदाधिकारीले नेपालमा लगानी गर्न दुबई सम्मेलनको घोषणा अनुसार सातौ क्षेत्रिय सम्मेलनले पनि यसै विषयमा महत्वपूर्ण निर्णय लिने बताएका छन् । उद्घाटन सत्रपछि सुरु भएको कार्यशालामा सामूहिक लगानी सम्बन्धी समितिले नेपालमा लगानीका विषयमा छलफल समेत गरेको थियो ।  इन्भेष्टमेन्ट एण्ड इनोभेसन नाराका साथ चलिरहेको सम्मेलनमा अस्ट्रेलियाबाट मात्रै पचास लाख डलर लैजाने प्रतिवद्धता आएको छ ।

यो कस्तो देश प्रधानमन्त्रीको निर्देशनपछि झन् कालोबजारी


काठमाडौ, भदौ १४
कस्तो देश । प्रधानमन्त्री बाबुराम भट्टराईले तीन दिनअघि व्यवसायी र सरकारलाई बोलाएर कालोबजारी नगर्न निर्देशन दिन्छन् । तर त्यसको उल्टो प्रतिक्रिया आउँछ । उनको निर्देशनपछि झन् बजारमा कालोबजारी र मिसावटका मात्रै समाचार आउँछन् । हिजो उपत्यकामा उत्पादन भएका खानेपानी दुषित भएको समाचार वाहिर आएको थियो अहिले भने  जलेश्वरमा पेट्रोल एक लिटरको १ सय ७० रुपैयाँसम्म बिक्री भएको समाचार आएको छ । जलेश्वरका चारवटै पेट्रोल पम्पमा१० दिनदेखि अभाव भएपछि व्यापारीले लुकिछिपी पेट्रोल महँगोमा बिक्री गरेका हुन् । १२० रुपैयाँ लिटर पर्ने पेट्रोललाई अहिले उपभोक्ताले बजारमा१५० देखि १७० रुपैयाँसम्म तिरिरहेका छन् ।
पेट्रोल पम्पमा पेट्रोलको अभाव भए पनि जलेश्वरको शंकरचोक, दुर्गाचोक, नगरपालिका चोक, खैराचोक, जिरोमाइल र बुद्धिजीवी चोकलगायत ठाउँका पान पसल र किराना पसलमा छ्याप्छ्याप्ती पेट्रोल पाइन्छ ।
बजारमा पाइने पेट्रोलको मूल्य चर्को हुनाका साथै परिमाणमा समेत घटी रहेको भए पनि स्थानीय प्रशासन यसबारे मौन रहेको छ ।

जनतालाई खैत ग्यास कार्ड प्रधानमन्त्री ज्यू

काठमाडौ, भदौ १४

सरकारले तामझामका साथ वितरण सुरु गरेको ग्यास कार्ड अहिलेसम्म सर्वसाधरणले पाउन सकेका छैनन् । तात्कालिन वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले वैशाख ५ गते प्रधानमन्त्री बाबुराम भट्टराईलाई ग्यास कार्ड वितरण गरेको थियो । तर पाँच महिना वितिसक्यो न जनताले ग्यास कार्ड पाए नत सहुलियतमै ग्यास कार्ड । बरु यो योजनाले फाइदा मात्रै दियो ग्यास बिक्रेता महासंघलाई । महासंघले कार्ड बिक्री गरेर आम्दानी गर्ने तर दायित्व भने केही पनि बेहोर्न नपर्ने । महासंघले केही स्थानमा कार्ड वितरण गरिरहेको छ । तर त्यसको तथ्यांक राख्ने काम आयल निगमले गरेको छ । कार्ड विक्रि गर्दाको रकम सबै महासंघ लिन्छ । तर निगमले भने छुट्टै कर्मचारी नियुक्ती गरेर कार्ड वितरणको तथ्यांक राखिरहेको छ । नाफा जति एउटा संस्थाले खाने तर दायित्व भने निगमलाई बोकाउने काम भएको छ । तर सरकार भने यही योजनालाई सफल बनाउन उर्दी जारी गरिरहन्छ । सरकारका मुख्य सचिवदेखि वाणिज्य सचिवसम्म कार्ड वितरण प्रभावकारी बनाउन निर्देशन दिन्छन् । ग्यास उद्योगीलाई सहयोगको वातावरण बनाउन चेतावनी दिन्छन् । तर कार्ड वितरणको जिम्मा पाएको महासंघले भने कार्ड वितरणमा कुनै सक्रियता देखाउँदैन । महासंघका अधिकारीहरु निगमसँग कार्ड वितरणको बारेमा छलफल पनि गर्दैन् । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्याल आफ्ना गृहजिल्ला गुल्मीका मुख्यसचिव लीलामणि पौडेललाई भेटेर कार्ड वितरणलाई अघि बढाउन दबाब दिन्छन् ।
‘कार्ड वितरणमा हामीसँग समन्वय गर्नुपर्नेमा महासंघका अध्यक्ष अर्याल भने मुख्यसचिवलाई भेटेर हामीलाई निर्देशन मात्रै दिन लगाउँछन्,’ निगमका कर्मचारी भन्छन्, ‘अर्यालले सबैलाई मिलाएकोले कार्ड वितरणमा असफल भएपनि उनलाई कुनै चिन्ता छैन ।’ महासंघले १० रुपैयाँमा कार्ड वितरण गरिरहेको छ । ग्यास कार्ड वितरण मात्रै होइन विक्रेता नियुक्तीमा समेत राम्रै कमाई गर्न सफल भयो । तर ग्यास बिक्रेताका लागि चाहिने मापदण्ड लागु भएनन् । महासंघले नियुक्तीका लागि लिने रकम मात्रै उठाएको निगमका कर्मचारी बताउँछन् ।

नेपाली कम्पनीको कमाल, एसियाको सय सूचीमा एफ वनसफ्ट

काठमाडौं, भदौ १३– मोबाइल बैकिङ र सूचना प्रविधि सम्बन्धी सफ्टवेयर निर्माता कम्पनी एफ वान सफ्ट इन्टरनेसनललाई रेडहेरिङले २०१२ का लागि एसियामा नविनतम प्रविधिका लागि काम गर्ने कम्पनीहरुको अन्तिम सूचीमा राखेको छ ।
रेडहेरिङले सूचीकृत गर्ने एसियामा नविनतम प्रविधिका लागि काम गर्ने कम्पनीको सूचीमा पर्ने एफ वान सफ्ट नेपालको पहिलो कम्पनी
भएको दाबी गरिएको छ ।  रेडहेरिङले विश्वमा पूराना प्रविधिलाई विस्थापित गर्दै नयाँ प्रविधि अपनाउने सूचना प्रविधि सम्बन्धी कम्पनीलाई सम्मानित गर्न यस्तो सूची बनाउँछ । रेडहेरिङले सामाजिक सञ्जाल फेसबुक, ट्विरजस्ता कम्पनीलाई पनि सुरुवातका दिनमा भविष्यका सम्भावनायुक्त कम्पनीका रुपमा सूचीकृत गरेको थियो ।
रेडहेरिङका प्रकाशक एवं प्रमुख कार्यकारी एलेक्स भियक्सले एफ वान सफ्टमा भविष्यका लागि ठूलो सम्भावना देखिएकाले एक सयको सूचीमा राखिएको बताए । एफ वान सफ्टका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आफ्नो कम्पनी सूचीकृत भएपछि गर्वानुभुत भएको बताए ।
‘हाम्रो कामलाई अन्तर्राष्ट्रिय जगतले पहिचान दिएको छ, यसले हामीलाई थप नयाँ प्रविधिको विकास गर्न हौसला प्रदान गरेको छ, यो
सूचीमा नेपालबाट पर्ने हामी पहिलो कम्पनी हौं, यसले हामीलाई अत्यन्तै खुशी बनाएको छ,’ उनले भने ।
नेपालमा वित्तीय सुविधालाई सूचना प्रविधिको प्रयोगबाट अझ व्यापक बनाउन कम्पनीको प्रयास अब अझ व्यापक बन्ने उनले बताए ।
यो सूचीमा छानिएका कम्पनीले सेप्टेम्बर १० देखि १२ सम्म रेडहेरिङ एसियाको मञ्चमा आफ्नो योजनाका बारेमा प्रस्तुती दिने कार्यक्रम
छ ।
यो सूचीमा छानिन वित्तीय कार्यक्षमता, गुणस्तरीय व्यवस्थापन, रणनीतिक योजनाको गुणात्मकता र गुणस्तरीयतालाई मापदण्ड बनाइन्छ,’रेडहेरिङद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नौलो तरीकाले काम गरेर ठूलो सम्भावना देखाएको र कम्पनीको छवि राम्रो भएकोलाई सम्मानित गर्दै आएको संस्थाले जानकारी दिएको छ ।‘यो वर्ष धेरै प्रशंसनीय काम भएका छन्, भियक्सले भने, ‘विश्व वित्तीय अवस्था सन्तोषजनक नभए पनि धेरै कम्पनीले नविनतम र अनौठो प्रविधि ल्याएका छन् । उनले धेरै कम्पनीले ल्याएका नविनतम प्रविधिले प्रतिस्पर्धी कम्पनी छान्न कठिन भएको बताए । एफ वान सफ्टले भारत, चीन, पाकिस्तान, न्युजिल्याण्ड, अस्ट्रेलिया, जापान, हङकङ, सिंगापुरका कम्पनीसँग प्रतिस्पर्धा गरिरहेको छ । एक सयको सूचीबाट
छानिएपछि कम्पनीले अमेरिका, दक्षिण अमेरिका र युरोपका कम्पनीसँग प्रतिस्पर्धा गर्नेछ ।

ठूला व्यापारीले मात्रै नगद बुझेपछि निकासी अनुदान परिमार्जन हुँदै

काठमाडौ, भदौ १३
सरकारले तेस्रो मुलुकमा सामान निकासी गर्ने उद्योगलाई मात्र नगद अनुदान दिने गरी कार्यविधि बनाउन सुरु गरेको छ ।
नेपाल व्यवसाय मञ्चले करिब दुई साताअघि उच्चस्तरीय व्यवसाय मञ्चमा पेस गरेको प्रस्तावमा तेस्रो मुलुकमा निर्यात गरेकालाई मात्र अनुदान दिने व्यवस्था गर्न आग्रह गरेपछि सरकारले यसको कार्यविधि बनाउन लागेको हो । ‘नगद अनुदान दुरुपयोगको गुनासो आएपछि तेस्रो मुलुकमा सामान निकासी गर्नेलाई मात्रै नगद अनुदान दिने गरी कार्यविधि बन्न लागेको छ,’ उद्योग मन्त्रालयका सहसचिव अनीलकुमार ठाकुरले नागरिकलाई बताए ।
उनका अनुसार कार्यविधि बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा समिति बनेको छ । समितिमा राष्ट्र बैंकका गर्भनर, अर्थ, उद्योग र वाणिज्य मन्त्रालयका सचिव सदस्य छन् । समितिले भदौ तेस्रो सातासम्म उद्योग मन्त्रालयलाई सिफारिस गर्ने र मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कार्यविधि कार्यान्वयनमा आउनेछ । 
सरकारले निकासी व्यापार बढाउने उद्देश्यले दिएको अनुदान दुरुपयोग भएको व्यवसायीले आरोप लगाउँदै आएका छन् । अहिले परिवत्र्य मुद्रा (डलर) मा सामान निकासी गर्ने सबैले नगद अनुदान पाउँदै आएका थिए । परिवत्र्य मुद्राका आधारमा निकासी अनुदान दिँदा यहाँ उत्पादन भएका सामान भन्दा भारतबाट ल्याएर निकासी गरेका उद्योगीले पाएपछि तेस्रो मुलुकमा मात्रै अनुदानको व्यवस्था गर्न लागिएको हो ।
ठाकुरका अनुसार कार्यविधि असोजदेखि कार्यान्वयनमा आउनेछ ।  भदौसम्म भने अहिलेकै विधिमार्फत  उद्योगीले नगद अनुदान पाउनेछन् । ‘नगद अनुदान दुरुपयोग भएको गुनासो आउन थालेपछि तेस्रो मुलुक सामान निकासी गर्ने उद्योगीलाई मात्रै दिने गरी कार्यविधि बन्न लागेको हो,’ उनले भने । ठाकुरका अनुसार उद्योगी व्यवसायीले माग गर्दै आएजस्तै निकासी अनुदानलाई सरलीकृतको प्रयास हुनेछ ।
‘उद्योगीहरुले निकासी अनुदानको प्रक्रियालाई सरलीकृत गर्न हामीलाई आग्रह गर्दै आएका छन्,’ उनले भने, ‘उद्योगीको आग्रहका आधारमा फ्ल्याटमा अनुदान दिने गरी सम्बोधनको प्रयास हुनेछ ।’
 अहिलेसम्म चारवटा धागो उद्योग, तीन वटा तयारी पोसाक, एउटा पस्मिना उद्योग, २४ दाल उद्योग, ११  गलैंचा, ३ हस्तकला, २ छाला उद्योग, ४ कफी उत्पादक सहकारी, ३ अन्य उद्योग गरी ५७ उद्योगले नगद अनुदान पाएका छन् । अहिले उद्योग विभागले नेपालबाट निकासी भएका सामानको मूल्य अभिवृद्धिको आंकडा निकालेर नगद अनुदान दिएको छ । यसरी नगद अनुदान दिँदा ठूला उद्योगीको प्रभावका भरमा दिएको तेस्रो मुलुक निकासी गर्ने उद्योगीको आरोप लगाएका थिए । नेपालबाट निकासी हुने तयारी पोसाक, पस्मिना, गलैंचा, हस्तकला लगायत वस्तुलाई विभिन्न बहानामा अनुदान दिन नखोजेको आरोप लगाउँदै  ठूला घरानाका दाल र चाउचाउ उद्योगलाई सजिलै अनुदान दिएर दुरुपयोग गरिएको उनीहरुको आरोप थियो ।
निकासीसँग सम्बन्धित १८ वटा व्यवसायिक संगठनले मूल्य अभिवृद्धिका आधार बनाएर दिइदै आएको निकासी अनुदान कार्यविधि अव्यवहारिक भएको भन्दै निकासीकै आधारमा फ्ल्याटमा दुई प्रतिशत दिन माग गरेका थिए । बजेट आउनुअघि अर्थमन्त्री वर्षमान पुनलाई भेटेर उनीहरुले यो आग्रह गरेपनि पूर्ण बजेट नआएकाले सम्बोधन हुन सकेको थिएन । सरकारले निकासी व्यापार खस्किँदै गएपछि यसमा सुधार ल्याउन सरकारले तीन वर्षदेखि नगद अनुदान दिने व्यवस्था सुरु गरेको थियो ।
सरकारले बजेटमार्फत् नेपालबाट डलरमा निकासी गर्ने उद्योगीले मूल्य अभिवृद्धिका आधारमा नगद अनुदान दिने व्यवस्था गरेको थियो । परिवत्र्य मुद्रा बैंकमा दर्ता भएको प्रमाणपत्रका आधारमा निर्यात गर्ने उद्योगलाई दुई प्रतिशत र ५० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि भए तीन तथा ८० प्रतिशतभन्दा बढी भए चार प्रतिशत नगद अनुदान दिने व्यवस्था गरिएको छ ।

Wednesday, August 29, 2012

किन भाग्छन् ठूला व्यापारी


काठमाडौ भदौ १४
चामलको मूल्य एक महिनाको बीचमा १० रुपैयाँ भन्दा बढ्यो । चिनीको मूल्य अझ बढेर एक किलोमा २० रुपैयाँ बढ्यो । मूल्य अस्वभाविक रुपमा बढेपछि प्रधानमन्त्री बाबुराम भट्टराईले ठूला व्यापारीको गोदाममा अनुगमन गर्न सरकारी निकायलाई निर्देशन दिए । यही निर्देशनलाई मान्दै वाणिज्य विभागको टोली बुधवार कुलेश्वरमा रहेका खाद्यान्नका ठूला व्यापारीका अनुगमन गर्न गयो । तर अनुगमन गर्न जाँदा सबै खाद्यान्न व्यापारी पसल बन्द गरेर भागिसकेका थिए ।
कुलेश्वरका व्यापारी भागेका यो पहिलो पटक होइन । पटक पटक उनीहरु यसरीनै भागेर कारवाहीबाट उम्किने गरेका छन् । एक वर्षअघि विभागको टोली जाँदा सबै व्यापारीले पसल छाडेर कुलेलाम ठोकेका थिए । त्यसपछि विभागको टोलीले लाहाछाप लगाएर हिड्ेका थिए । तर त्यही व्यापारीहरुले तात्कालिन वाणिज्य तथा आपूर्तिमन्त्रीलाई ‘नगद नारायण’ बुझाएपछि कुनै कारवाही नगरी फुत्किएका थिए । यो कुलेश्वरका व्यापारीले अहिलेपनि त्यही रुप देखाए । कुलेश्वरका ठूला खाद्यान्न व्यापारीमा नाम चलेका उद्योगी छन् । यी व्यापारीहरु राजनीतिक संक्रमणको फाइदा उठाउँदै मूल्य बढाएर नाफाखोरीहरु छन् । ती नाफाखोरीले यसरीनै राजनीतिज्ञलाई भजाएर उपभोक्तालाई भने मूल्यवृद्धिको भार बोकाइरहेका छन् । यही व्यापारी हुन् जसले भारतबाट दाल ल्याएर नेपालको भन्दै नगद अनुदान लिएका थिए ।

ग्यासको पाइपलाइन पनि नेपाल आउने

इन्डियन आयल कर्पोरेसन (आइओसी) ले एलपी ग्यासको पाइपलाइन नेपालसम्म जोड्न प्रस्ताव गरेको छ। आइओसीको ग्यास पाइपलाइन बरौनीसम्म आएको छ।
'आइओसीले ग्यास पाइपलाइन नेपालसम्म जोड्न मौखिक प्रस्ताव गरेको छ,' आयल निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले  भने, 'हामीले औपचारिक प्रस्ताव पठाउन आग्रह गरेका छांै।' आइओसीले पाइपलाइन मुजफ्फरपुरसम्म ल्याउने र त्यहाँबाट नेपालसम्म जोड्न प्रस्ताव गरेको हो। 
'आइओसीले ग्यास पाइपलाइन अहिले मुजफ्फरपुरसम्म ल्याउन लागेको छ। त्यहाँबाट नेपालसम्म जोड्न चाहेको हो,' उनले भने, 'ग्यासको पनि पाइपलाइन जोड्न सकियो भने हामीलाई फाइदा हुनेछ।'

अग्रवालले पेट्रोलियम पाइपलाइनसँगै जोडेर ग्यास पाइपलाइन ल्याउन सकिने बताए। ग्यास पाइपलाइन निर्माण भए ढुवानी भाडा सस्तो हुनेछ। अहिले ग्यास ढुवानीका लागि महँगो शुल्क तिर्नुपरिरहेको छ। बरौनीबाट काठमाडौंसम्म एक बुलेट ग्यास ल्याउँदा एक लाखभन्दा बढी रुपैयाँ तिर्नुपर्छ।
पेट्रोलियम पाइपलाइन अनिर्णित
नेपाल र भारतबीच अमलेखगन्ज-रक्सौल पाइपलाइन बनाउने १५ वर्षअघि निर्णय भए पनि अहिलेसम्म बन्न सकेको छैन। आइओसीले पाइपलाइन निर्माण गरिदिने प्रस्ताव गरे पनि अघि बढ्न सकेको छैन।
आइओसीले पछिल्लो समयमा पठाएको पेट्रोलियम पाइपलाइनको प्रस्ताव वाणिज्य मन्त्रालयमा पुगेर बसेको छ। आइओसीले अमलेखगञ्ज- रक्सौल ४१ किलोमिटर पाइपलाइन निर्माण गरिदिने र दस वर्षपछि नेपाललाई फिर्ता दिने प्रस्ताव गरेको थियो।
'हामीले आइओसीले पछिल्लो समयमा पठाएको प्रस्तावलाई वाणिज्य मन्त्रालयमा पठाएका छौं,' अग्रवालले भने, 'तर यो प्रस्ताव अघि बढ्न सकेको छैन।' आइओसीको यो प्रस्ताव मन्त्रिपरिषदबाट पारित भएपछि मात्रै निर्माण अघि बढ्छ। स्रोतका अनुसार अहिले यो परियोजना अघि बढाए विरोध हुने अनुमान गरी वाणिज्यमा प्रस्ताव पुगेर थन्किएको हो।
'भारतलाई पाइपलाइन निर्माण गर्न दिँदा सरकारको आलोचना हुने मनौवैज्ञानिक डरले प्रस्ताव थन्किएर बसेको छ,' मन्त्रालयका एक अधिकारीले भने, 'नभए यो आयोजना बढाउन कुनै गाह्रो छैन। यो परियोजनाले मुलुकलाई नै फाइदा गर्छ।'
आइओसीको प्रस्तावमा पाइपलाइन निर्माणमा लागेको खर्च पेट्रोलियम पदार्थ पठाउँदा कटाउँदै जाने उल्लेख छ। आइओसीले सात वर्षमा पाइपलाइन निर्माणमा लागेको खर्च उठाउने र बाँकी तीन वर्ष नाफा लिने प्रस्ताव गरेको छ।

शंकर ग्रुपको लगानी बालुवामा पानी


काठमाडौ, भदौ १३
सर्वोच्च अदालतले सिमेन्टमा लेमिनेटेड बोरा प्रयोग तत्काल कार्यान्वयनमा नल्याउन बुधवार अन्तरिम आदेश जारी गरेको छ । सरकारका नाममा अन्तरिम आदेश जारी भएपछि सबैभन्दा ठूलो नोक्सानी शंकर ग्रुपलाई भएको छ । शंकर ग्रुपले लेमिनेटेड बोरा उत्पादनको लागि २० करोड लगानी गरेर शंकर सिन्थेटिक स्थापना गरेको थियो । यो समूहले वातावरण र उद्योग मन्त्रालयलाई प्रभावमा पारेर यो निर्णय गराएको थियो । सबै व्यवसायीलाई चिढ्याएर एकलौटी रुपमा आफ्नो व्यवसाय विस्तार गर्ने यो समूहको सपना साकार भएन । यो समूहले हिजो मात्रै विज्ञापन छापेर लेमिनेटेड बोराको बुकिङ खुल्ला भएको जनाएको थियो । एउटा बोराको भ्याट वाहेक १८ रुपैयाँ लाग्ने र नोभेम्बरमा पाउने भन्दै गरेको विज्ञापन बालुवामा पानी भएको छ । सिमेन्ट उत्पादक संघ र नेपाल उभन एन्ड स्याक उद्योग संघले लेमिनेटेड बोरा कार्यान्वयनमा आएमा सिमेन्टको कारोबारनै ठप्प पार्ने चेतावनी दिएको थियो ।

विदेश जाने पाकादेखि युवासम्म

काठमाडौ, भदौ १२
मोरङका ५० वर्षे बिमबहादुर भण्डारी बगैंचा हेरचाह गर्ने काममा साउदी अरब जाँदैछन् । उमेर बढी भए पनि छोराको उपचार खर्च जुटाउन साउदी जानुपरेको उनी बताउँछन् ।
‘कान्छो छोरोलाई मुटुको रोग छ । उसको उपचार खर्च कमाउन तीन वर्षलाई विदेश जाँदैछु,’ भण्डारीले  भने, ‘यहाँको कमाइले घर खर्च चलाउनै मुस्किल छ ।’ भण्डारी ग्लोबल एलायन्स म्यानपावरमार्फत साउदी जान लागेका हुन् । एक लाख तिरेर जान लागेका भण्डारी वनस्थलीको एलायन्स टेक्निकल एन्ड रिसर्च सेन्टरका सबैभन्दा पाका व्यक्ति हुन् ।
स्वदेशमा रोजगारीको अवसर नभएपछि वैदेशिक रोजगारीमा युवादेखि पाका उमेरका पनि जान थालेका छन् ।
१९ वर्षका भीमबहादुर घर्ती मलेसिया जाँदैछन् । ‘यहाँ बसेर के काम ? कमाइ पनि हुँदैन । यहाँ बस्नुभन्दा विदेश गएर केही कमाइ गर्न सकियो भने भविष्यलाई सजिलो हुन्छ,’ उनले भने । उनी बालुवाटारको ग्लोबल स्टार म्यानपावरबाट मलेसिया जान लागेका हुन् । एक लाख १० हजार रुपैयाँ तिरेर उनी मलेसियाको इलोक्ट्रोनिक्सन कम्पनीमा काम गर्न जाँदैछन् ।
नुवाकोटकी मिनु तामाङ पाख्रिन अभिमुखीकरण तालिम लिइरहेकी छिन् ।  छोराछोरीलाई राम्रो शिक्षा दिने सपना बोकेर उनी विदेसिँदै छिन् । ‘दुई बच्चा छन् । श्रीमानको कमाइले मात्रै राम्रोसँग पढाउन सकिएन,’ उनले भनिन्, ‘विकल्प नभएपछि विदेश गएर कमाइ गर्ने सोच बनाएकी हुँ ।’ उनका श्रीमान् काठमाडौंमा गाडी चलाउँछन् ।
‘दुई÷तीन वर्ष काम गरेपछि छोराछोरीको पढाइ त राम्रो हुन्छ । हामीले त पढ्न नसकेर दुःख पाइयो,’ उनले भनिन् ।
नवलपरासीकी रिजा रुम्बाको सपना पनि पाख्रिनको भन्दा फरक छैन । उनी पनि ९० हजार तिरेर मलेसियाको इलोक्ट्रोनिक्स कम्पनीमा काम गर्न जाँदैछिन् । ‘ऋण धन जम्मा गरेर मलेसिया जाँदैछांै । यहाँ वmुनै काम पाइएन । पाइए पनि कमाइ राम्रो हुँदैन,’ उनले  भनिन्, ‘विदेशमा केही वर्ष दुःख गरेर राम्रो कमाइ हुन्छ भने किन नजाने ?’
विदेश जान लागेका यी सबैको एउटै सपना छ– विदेशमा गएर राम्रो कमाइ गर्ने र आर्थिक अवस्था सुधार्ने । तर विदेश जान लागेका यी सबै कामदारलाई आफ्नो म्यानपावर एजेन्सीबारे राम्रो ज्ञान छैन । कोही गाउँकै एजेन्टबाट यहाँसम्म आएर पैसा बुझाएका छन् भने कोहीलाई अझै पनि वmुन म्यानपावर एजेन्सीबाट जाँदैछु भन्ने जानकारी छैन ।
बुधबार अभिमुखीकरण तालिम संस्थाको अनुगमनका व्रmममा भेटिँदा वmुनै म्यानपावर एजेन्सीले बढी रकम असुलेको समेत भेटिएको थियो । बढी रकम असुल्ने मेनपावरको वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले नाम टिपेका छन् । 
मलेसिया जाने कामदारले ८० हजारभन्दा बढी तिर्नुपर्दैन् तर अभिमुखीकरण तालिम संस्थामा भेटिएका कामदारले एक लाख १० हजार रुपैयाँसम्म तिरेको भेटिएको थियो । ‘विदेश जानु अहिलेको बाध्यता छ । तर यसमा बेथिति पनि छन्,’ भट्टराई भन्छन्, ‘सुधारको प्रयास भइरहेको छ ।’ 
स्वदेशमा रोजगारीको अवसर नभएपछि विदेसिनेको संख्या दिनदिनै बढ्दो छ । विभागको तथ्यांक अनुसार गत वर्ष तीन लाख ८५ हजार नेपाली वैधानिक रूपमा रोजगारीका लागि विदेसिएका छन् । कामका लागि छिमेकी मुलुक भारत जाने नेपालीको संख्या

मलेसियामा म्यानपावरको अस्वस्थ प्रतिस्पर्धा

काठमाडौ, भदौ १२
म्यानपावर व्यवसायीबीच भइरहेको अस्वस्थ प्रतिस्पर्धाका कारण मलेसिया जाने कामदारले महँगो रकम तिर्नुपरेको सरोकारवालाले बताएका छन् । वैदेशिक रोजगार पत्रकार समाजद्वारा सोमबार आयोजित मलेसिया रोजगारी चुनौति र अवसर विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले यो कुरा बताएका हुन् ।
‘नेपालीको पहिलो श्रम गन्तब्य व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धाले महँगो हुँदै गएको छ,’ उनीहरुले भने, ‘अस्वस्थ प्रतिस्पर्धा रोक्न नसकिए व्यवसायनै समाप्त हुनेछ ।’ कार्यक्रममा श्रम तथा रोजगारमन्त्री कुमार बेल्वासेले मलेसियामा देखिएको समस्यालाई संबोधन गर्न मन्त्रालय तयार रहेको बताए ।
‘मलेसियामा अहिले देखिएको समस्या हटाउन मन्त्रालय सक्रिय हुनेछ,’ उनले भने, ‘यो गन्तब्यलाई जोगाउन व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहन्छ ।’ वैदेशिक रोजगार विभागका निर्देशक सूर्य भण्डारीले खाडीको तुलनामा मलेसिया नेपालीका लागि उपयुक्त गन्तब्य भएको बताउँदै राम्रो गन्तब्यलाई जोगाउन व्यवसायीहरुले नैतिकताभित्र रहेर काम गर्नुपर्ने बताए ।
‘मलेसिया नेपालीका लागि सबैभन्दा राम्रो गन्तब्य हो । हावापानी र समाज उदार भएकोले नेपालीहरुले सहजै काम गर्न सक्छन्,’
 समाजका अध्यक्ष मदन श्रेष्ठले मलेसियामा देखिएको अस्वस्थ प्रतिस्पर्धा रोक्न व्यवसायीलाई आग्रह गर्दै अस्वस्थ प्रतिस्पर्धा गर्दा व्यवसायी र कामदार दुबै मारमा परेको बताए । कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निर्वतमान अध्यक्ष सोमलाल बटाजु, पूर्व अध्यक्ष तिलकराना भाट , प्रेम कटुवाल लगायतले अस्वस्थ प्रतिस्पर्धा रोक्न पहल गर्ने प्रतिवद्धता गरेका थिए ।

कम पढेकाले पनि क्यानडा जान पाउने

काठमाडौं
उच्च शिक्षालाई आफ्नो मुलुकमा भिœयाएको क्यानडाले कम पढेका व्यक्तिलाई पनि प्रवेश दिने भएको छ । क्यानडाले अर्को वर्षदेखि अध्यागमन प्रणालीमा परिवर्तन गरेर कम पढेकालाई पनि आफ्नो मुलुकमा लैजाने भएको हो । क्यानडाका अध्यागमनमन्त्री जेसन केनीका अनुसार अग्रेजीमा दख्खल भएका व्यक्तिले कामदारलाई विशेष प्राथमिकता दिइनेछ । उनका अनुसार १८ देखि ३५ वर्ष उमेर पुगेकालाई प्राथमिकतामा राखिएको छ ।
तल दिइएको छनौट प्रक्रिया विवरणका अनुसार IELTS मा ७ वा सो भन्दा बढी स्कोल प्राप्त गरेमा अंग्रेजी भाषाका हरेक विधामा ६ अंक गरी २४ अंकसम्म प्राप्त गर्न सकिने देखिएको छ ।
उदाहरणस्वरुप यदी Listening, Speaking, Writing र Reading गरी हरेक विधामा ७ स्कोर ल्याएको छ भने अंग्रेजी भाषामा मात्र २४ अंक प्रदान गरिने छ । त्यसैगरी ६.५ स्कोर प्राप्त गरेमा प्रति विधा ५ गरी बढीमा २० अंक र ६ ल्याएमा बढीमा १६ अंक प्राप्त गर्न सकिने देखिएको छ । यस अगाडी IELTS मा ६ ल्याउनेले बढीमा ६ अंकमात्र प्राप्त गर्नेगर्दथ्यो ।
अझ त्यो भन्दापनि महत्वपूर्ण त अंग्रेजी भाषामा कम्तिमा पनि ६ स्कोर (IELTS) ल्याउनुपर्ने अन्यथा इम्मिग्रेशन आवेदन नै गर्न नपाउने प्रावधान राखिने प्रवल सम्भावना रहेको छ ।
त्यसैगरी उमेरको हकमा ३५ बर्ष मुनिकालाई बिशेष प्राथमिकता दिइने देखिएको छ जसको फलस्वरुप १८ देखि २५ बर्ष मुनीकालाई १२ अंक दिइएको देखिएको छ ।
अध्ययनको बिषयमा भने डाक्टर गरेको व्यक्ति अर्थात पी. एचडी. गरेको व्यक्तिले मात्र २५ अंक पाउने देखिन्छ । जसको मतलब एम.बी.बी.एस. वा मेडिकल डाक्टर गरेको नभएर एम.ए. पश्चातको पी.एचडी. भनेर बुझ्नु पर्नेहुन्छ ।
क्यानडा अध्यागमन मन्त्री जेशन केनी
बिदेशमा अध्ययन गरिएको एकेडेमिक सर्टिफिकेटहरुलाई पहिले नै क्यानडामा पठाई इक्युभेलेन्सी गराउनुपर्ने र सोहीको आधारमा अध्ययनको अंक दिइने देखिन्छ । एडेप्टेबिलीटिको हकमा यदी मूख्य आवेदकले पहिले नै क्यानडामा आई कम्तीमा एक बर्ष कामको अनुभव प्राप्त गरेको व्यक्तिले सोझै १० अंक प्राप्त गर्ने देखिन्छ भने श्रीमती वा श्रीमानको अंग्रेजी भाषामा सामान्य ज्ञान अर्थात IELTS मा ४ स्कोर गरेको छ भने ५ अंक पाउने देखिएको छ ।
यस अगाडी श्रीमान वा श्रीमतीको योग्यतामा अंक दिइएकोमा त्यसलाई हटाई अब अंग्रेजी भाषामा अंक दिइन लागिएको हो जसका लागि IELTS गर्नुपर्ने र कम्तीमा ४ वा सो भन्दा बढी स्कोर ल्याउनुपर्ने देखिएको छ ।
कामको अनुभवको हकमा भने कम्तीमा एक बर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने तर अधिकतम् अंक प्राप्त गर्नको लागि ६ वा सो भन्दा बढी बर्ष कामको अनुभव प्राप्त गरेको हुनुपर्ने देखिएको छ ।

ऋषि शर्मा भन्छन्– कामदार निशुल्क विदेश पठाएका छौं

कुन मुलुकमा वैदेशिक रोजगारीमा पठाइरहनुभएको छ?
ऋषि शर्मा
निर्देशक
लक्की एचआर सोलुसन प्रालि
हामीले साउदी अरब, मलेसिया, युएई, कतार र बहराइनमा वैदेशिक रोजगारीमा कामदार पठाइरहेका छौ। गत वर्ष हामीले ३ हजार ५ सय ५१ जना कामदार विदेश पठाएका थियौ। श्रम बजारमा दक्ष कामदार कम आउने भएकोले हामीले पठाएकोमा बढी अदक्ष छन्। यो वाहेक अर्धदक्ष कामदार पठाएका छौ। हाम्रो चाहना दक्ष कामदार पठाउने हो तर विदेश जाने दक्ष कामदार पाउनै सकिदैन। विदेश जाने अधिकांश व्यक्ति ग्रामिण भेगका हुन्। अर्ध दक्ष र दक्ष कामदार पठाउन गाउँमा प्राविधिक तालिम केन्द्र आवश्यक पर्छ।
अर्ध दक्ष दक्ष कामदार पठाउन के गर्नुपर्ला?
वैदेशिक रोजगार क्षेत्र कहिल्यैपनि राज्यको दायित्व भित्र परेन्। देशको बजेटभन्दा धेरै रकम विदेशमा काम गर्ने कामदारले पठाएको रेमिट्यान्स आएको छ। तर विदेश जाने कामदारलाई तालिममा लगानी भने शुन्य छ। सरकारले तालिम दिएर विदेश कामदार पठाउने हो भने रेमिट्यान्स रकम अहिलेको भन्दा दोब्बर आउँछ। सरकारले स्थापना गरेको सिटीभिटीलाई गाउँसम्म पुर्‍याउन आवश्यक छ। सिटीभिटीको मुख्य उदेश्य भनेकै प्राविधिक तालिम दिनु हो। हामीजस्तो म्यानपावर चलाउनेले तालिम संस्था चलाउन सकिदैन। विदेश जाने कामदारलाई तालिम दिने दायित्व सरकारकै हो। प्राविधिक तालिम दिएमा यही पनि रोजगारी गर्न पाउँछन् विदेशकै लागी पर्दैन्।

डेरिभेटिभ एक्सचेन्जबाट डलरको अवैध कारोबार

काठमाडौं, भदौ ११
 वस्तुको मूल्यलाई आधार बनाएर डेरिभेटिभ कारोबार गराउने उद्देश्यले खुलेका एक्सचेन्ज कम्पनीले गैरकानुनी रुपमा डलरको समेत किनबेच सुरु गरेका छन्। नियामक निकाय नभएको फाइदा उठाउँदै कम्पनीहरुले आयात-निर्यातमा संलग्न व्यापारी र डेरिभेटिभमा लगानी गर्ने कोर (नियमित) समूहका लागि डलरको फ्युचर कारोबार गर्न थालेका हुन्। 
विदेशी विनिमय ऐनअनुसार कसैले पनि विदेशी मुद्राको फ्युचर कारोबार गर्न पाउँदैन। राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई पनि फ्युचर कारोबारको अनुमति दिएको छैन। अहिले सञ्चालित कमोडिटी मेटल एक्सचेन्ज (कोमेन), मर्कन्टायल एक्सेचन्ज नेपाल (मेक्स), नेपाल डेरिभेटिभ एक्सचेन्ज (एन्डेक्स), नेपाल स्पट एक्सचेन्ज (एनएसई), वेल्थ एक्सचेन्ज (वेल्थ) र कमोडिटी फ्युचर एक्सचेन्ज (वेक्स) ले डलरको गैरकानुनी रुपमा फ्युचर कारोबार गरेका हुन्।