Wednesday, December 26, 2012

प्रतिवेदन लुकाउँदा अर्बौ रकम जोखिममा



काठमाडौं–सरकारले दुई वर्षअघि गरेको अध्ययन प्रतिवेदन लुकाइँदा बचत तथा ऋण सहकारीभित्रका आर्थिक बेथिति ‘विस्फोट’ हुन थालेका छन् ।सहकारीहरुमा सर्वसाधारणको १ सय ४० अर्ब रुपैयाँ निक्षेप छ । सहकारीका बेथिति नियन्त्रण गर्न अध्ययन प्रतिवेदन कार्यान्वयनमा नल्याइँदा ठूला सहकारी नै एकपछि अर्को समस्यामा पर्न थालेका हुन् ।रियल स्टेटमा सहकारीको लगानी तीव्र रुपमा बढेपछि सहकारी विभाग र राष्ट्र बैंकले संयुक्त रुपमा अध्ययन गरेका थिए । अध्ययनमा राजधानीलगायत मुख्य सहरका ठूला सहकारीमा आर्थिक बेथिति व्यापक रुपमा रहेको भन्दै नियन्त्रणका लागि तत्काल कदम चाल्न सुझाइएको थियो । सहकारीको चुस्त नियमन र सुपरिवेक्षण गर्न बसेको सहकारी विभागले आफैंले गरेको अध्ययन प्रतिवेदन लुकाउँदा अर्बौं रुपैयाँ जोखिममा परेको हो ।‘अध्ययन प्रतिवेदनअनुसार कारबाही अघि नबढ्दा सहकारीको समस्या गहिरिएको छ । यसले स–साना बचतकर्ता फसेका छन्,’ विभागका तत्कालीन रजिस्ट्रार एवं सहकारी मन्त्रालयका प्रवक्ता सुदर्शन ढकालले भने । प्रतिवेदन लुकाइँदा ढकाल विभागका रजिस्ट्रार थिए ।उनले प्रतिवेदन तयार भएका बेला कारबाही अघि बढाउन संरचनागत समस्या भएको दाबी पनि गरे । ‘त्यसबेला कारबाही गर्न समस्या थियो,’ उनले भने, ‘अहिले त्यसैले ठूलो रूप लियो ।’घरजग्गा कारोबारी सञ्चालक रहेका सहकारीहरुमा बढी समस्या देखिएको प्रतिवेदनमा औंल्याइएको थियो । उनीहरुले सर्वसाधारणबाट निक्षेपका रुपमा उठाएको रकम व्यक्तिगत प्रयोग गरिरहेको अध्ययनको निष्कर्ष थियो । सहकारी सञ्चालकहरुले सर्वसाधारणको निक्षेप व्यक्तिगत फाइदाका लागि घरजग्गा कारोबारमा लगानी गरेको भेटिएको थियो

Wednesday, December 12, 2012

टाट उल्टिएपछि उद्योगी पनि भासिए मुग्लान

काठमाडौं–नेपाल तयारी पोसाक उद्योग संघका निर्वतमान अध्यक्ष प्रशान्त पोखरेल एक वर्षदेखि अमेरिकामा छन् । तयारी पोसाकको निकासी निरन्तर घटेपछि उनी उद्योगै छाडेर अमेरिका गए । उनले अम्मी एपरल्स पार्टनरलाई बिक्री गरेका थिए । यही पेसामा लामो समय लागेका दिनेश शर्मा, ऋषि ढकाललगायत पनि अमेरिका गइसकेका छन् । राजनीतिक अस्थिरता, बन्द हड्ताल लगायतले संकटमा परेको तयारी पोसाक उद्योग सन् २००४देखि अमेरिकाको कोटा खारेजी पछि थप समस्यामा प¥यो । पछिल्लो समय तयारी पोसाक उद्योगबाट पलायन हुने  र अन्य व्यवसायमा जानेको उद्योगीको लर्को नै छ । उत्पादित तयारी पोसाक बन्द, हड्तालले समयमा पठाउन नसक्दा कतिपय उद्योगी टाट पल्टिए । संघका अनुसार एकीकृत माओवादी शान्ति प्रक्रियामा आएपछि ४० भन्दा बढी उद्योगी अमेरिका पलायन भए । उनीहरुले माओवादीको धम्कीले उद्योग चलाउन नसकेको भन्दै अमेरिका भासिएका हुन् । ‘माओवादीको धम्की आएको भनेर ४० जना उद्योगी अमेरिका गए । अमेरिका गएका कतिपय व्यवसाय गरेका छन् त कतिपय रोजगारी गरेर बसेका छन्,’ एक तयारी पोसाक उद्योगीले भने, ‘निकासी उद्योगमा लागेका उद्योगीको अवस्था सोचेभन्दा धेरै फरक छ ।’ उनका अनुसार तयारी पोसाक लगायतका व्यवसायमा नयाँ उद्योगीहरु लगानी गर्न आए । ‘ठूला घरानाले तयारी पोसाक लगायत निकासीमूलक उद्योगमा लगानी गरेनन् ।

Saturday, December 1, 2012

डिभी चिठ्ठा सदाका लागि बन्द गर्ने अमेरिकी निर्णय

विकासराज न्यौपाने–अमेरीकी संसदको बहुमतले डिभि भिसा बन्द गर्ने निर्णय गरेको छ । नेपाली समय अनुसार गएराती अमेरीकी संसदमा भएको मतदानमा डिभि ग्रीनकार्ड बन्द गर्ने भन्ने पक्षमा २४५ जनाले मतदान गरेका थिए भने १३९ जनाले बन्द गर्न नहुने पक्षमा मतदान गरेका थिए । डिभि भरेर अमेरीका भित्रीएकाहरु कम योग्यता भएका र अमेरीकाको निम्ती कुनै फाइदा नपुग्ने भन्दै रोक्नु पर्ने पक्षमा बहुमत संसद उभिएका थिए ।डिभि ग्रीनकार्डको सट्टा अमेरीकामानै प्राविधिक,उच्च शिक्षा पढदै गरेकाहरुलाई ग्रीनकार्ड दिइने कानुन बनाउने भन्दै डिभि ग्रिनकार्डको बिरुद्धमा उनिहरु उभिएका हुन् । संसदको यो निर्णयलाई अमेरीकि सिनेटले पास गरेमा डिभि लोटरी कार्यक्रम सदाको लागि बन्द हुने छ ।