Sunday, September 16, 2012

सरकारी निकायले यसरी मिलाएपछि.............

काठमाडौं –आयल निगमले फेरी लोकप्रियताको लागि दुईथरी सिलिन्डर कार्यान्वयनमा ल्याउने जनाएको छ । कुनै तयारी विनै निगमले कात्तिकदेखि कार्यान्वयनमा ल्याउन खोजेको दुईथरी सिलिन्डर कार्यान्वयनमा नआउने निश्चित छ । यो फगत मुख्यसचिव लीलामणि पौडेललाई देखाउन गरिएको अर्को नाटक मञ्चन मात्रै हो । पौडेलले पटक पटक निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवाललाई दुईथरी सिलिन्डर कार्यान्वयनमा ल्याउन निर्देशन दिँदै आएका थिए । कामु कार्यकारी निर्देशक अग्रवाल पनि के कम कार्यान्वयनमा नआएपनि ग्यास उद्योगीलाई निर्देशन दिँदै बसेका छन् । सुरुमा भदौमा कार्यान्वयन ल्याउने ध्वाँस दिने उनी फेरी कात्तिकको धमास दिदैछन् ।
ग्यास उद्योगीलाई भित्रभित्रै आफैले दिएको निर्देशन लागु हुँदैन भनेर थुमथुमाइरहेका छन् । उनको यही द्धैध चरित्रले दुई थरी सिलिन्डर कार्यान्वयनमा नआउने निश्चित छ । अर्कोतिर दुईथरी सिलिन्डर कार्यान्वयनमा ल्याएर मात्रै हुँदैन यसलाई अनुगमन गर्ने निकाय पनि चाहिन्छ । निगमले यो अनुगमन गर्न सक्दैन र उसले पहिला पनि तेलकै अनुगमन गर्न सकेको छैन वा गर्न चाहेको छैन । तर पनि निगमले भने पत्रिकामा सूचना निकालेर आफ्नो कर्तब्य भने पूरा गरेकै छ । कार्यान्वयनमा महत्वपूर्ण भूमिका निभाउनुपर्ने ग्यास उद्योगीलाई समेत निगमले कुनै सल्लाह गरेको छैन । सल्लाह विना सूचना जारी गरेर फगत देखाउनकै लागि मात्रै हो भन्ने स्पस्ट हुन्छ । अर्को दुईथरी ग्यास बनाएर बिक्री गर्ने भनेर तामझामका साथ ग्यास कार्ड वितरण गर्न जिम्मा पाएको ग्यास बिक्रेता महासंघ नेपाल निस्क्रिय छ । यो संस्थालाई कार्ड वितरण गर्न भन्दा कार्ड वितरण गर्दा मुनाफा कता हुन्छ भन्नेतिर मात्रै लागेको छ । होइन भने उसले कार्ड वितरणमा तदारुकता देखाउनुपर्ने हो । यो तदारुकता नदेखाउनुमा आर्थिक कारण त पक्कै छ । सरकार पनि चुप लागेर बसेको छ होइन भने कार्ड वितरण प्रभावकारी नभएपछि त्यो संस्थालाई खारेजी गरेर अर्को संस्था नियुक्त गर्नुपर्ने हो ? प्रभावकारी नहुँदा पनि त्यही संस्थालाई कार्ड वितरण गर्न दिनुमा पक्कै अरु कुनै गोप्य कारण भएको हुनसक्छ ?


No comments:

Post a Comment