Sunday, September 9, 2012

यसरी बन्दैछ एउटा मात्रै ट्रेड युनियन

काठमाडौ, भदौ २५–सरकारले आगामी मंसिरसम्म चुनाव गराएर आधिकारिक टे्ड युनियन गठन गर्न चासो दिएका बेला मजदुर संगठनहरु पनि यसमा सकारात्मक देखिएका छन्।
उद्योग व्यवसायमा राजनीतिक दलसम्बद्ध युनियनका कारण समस्या उत्पन्न भएको उद्योगी व्यापारीले गुनासो गरे पछि सरकारले आधिकारिक टे्रड युनियनको चुनाव गराउने तयारी गर्दैछ। यही बेला मजदुर संगठनहरुले पनि औद्योगिक क्षेत्र र आफ्ना समस्या समाधान गर्न आधिकारिक टे्रड युनियनको आवश्यकता देख्दै गठनमा सकारात्मक भएका हुन्। 'एकल ट्रेड युनियन बनाउन तीन ट्रेड युनियन सकारात्मक छन्,' नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विष्णु रिमालले भने, 'एकल ट्रेड युनियन कसरी बनाउने भन्ने मोडालिटीबारे हामीबीच छलफल पनि सुरु भएको छ।'


उनका अनुसार जिफन्ट, नेपाल ट्रेड युनियन कांग्रेस (स्वतन्त्र) र अखिल नेपाल ट्रेड युनियन महासंघ आधिकारिक टे्रड युनियन बनाउन देशभर चुनाव गर्न सहमत भएका छन्। यी तीन ट्रेड युनियनमा देशभरका ९० प्रतिशत मजदुर आवद्ध छन्।
रिमालले देशभरका औद्योगिक प्रतिष्ठानमा एकैपटक निर्वाचन गर्न सबै टे्रड युनियन सहमत भएको बताए। निर्वाचनको मतपरिमाणका आधारमा औद्योगिक प्रतिष्ठानमा आधिकारिक ट्रेड युनियनको प्रतिनिधित्व हुनेछ। निर्वाचनमा बहुमत ल्याउने प्रतिष्ठानको अध्यक्ष बन्नेछ भने त्यसमा अरु संगठनको मत परिमाणका आधारमा पदाधिकारी र सदस्यमा प्रतिनिधित्व हुनेछ।
'हामीले तयार पारेको यो अवधारणमा तीन ट्रेड युनियन र पेसागत महासंघले सहमति जनाएका छन्,' रिमालले भने, 'यो अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट अवधारणा हो।' यही युनियनले औद्योगिक क्षेत्रमा एकल मुद्दा लैजान सक्छ। उनका अनुसार मुलुकमा रहेका ट्रेड युनियन एउटै बनाएर (मर्ज) गरेर लैजान सकिदैन।
'एउटै दलभित्र पनि भिन्न भिन्न समूह छन्। एउटै दल नमिलिरहेको अहिलेको अवस्थामा एउटै बनाएर लैजान सम्भव छैन,' उनले भने, 'राम्रा विकल्प खोजेर अघि बढ्न सकिए समस्याको समाधान हुनेछ।' प्रधानमन्त्री बाबुराम भट्टराईको संयोजकत्वमा रहेको उच्चस्तरीय व्यवसाय मञ्चले समेत आगामी मंसिर मसान्तभित्रै आधिकारिक ट्रेड युनियन बनाउन सुझाएको छ। 'विभिन्न औद्योगिक प्रतिष्ठानमा बहु ट्रेड युनियनहरु भएका कारण औद्योगिक विकासमा कठिनाइ भएकाले ट्रेड युनियन सम्बन्धी ऐन, २०५५ तथा श्रम ऐन, २०४२ अनुसार औद्योगिक प्रतिष्ठानहरुमा एउटा मात्र आधिकारिक ट्रेड युनियन हुनुपर्ने प्रावधान छ,' सुझावमा भनिएको छ, 'यही प्रावधान अनुसारको व्यवस्था गर्न श्रम तथा रोजगार मन्त्रालयले निजी क्षेत्र तथा सरोकारवालाहरुको सहयोग लिई २०७० मंसिर मसान्तभित्रै त्यसको चुनाव गराइसकिनेछ।' यो सुझावअनुसार उद्योग मन्त्रालयले सरोकारवालाको छलफल राखेर प्रक्रिया अघि बढाउन रोजगार मन्त्रालयलाई पत्र पठाउँदैछ। 'हामीले आधिकारिक ट्रेड युनियनको प्रक्रिया अघि बढाउन रोजगार मन्त्रालयलाई पत्र पठाउँदैछौं,' मन्त्रालयका सहसचिव अनीलकुमार ठाकुरले भने, 'निजी क्षेत्र, ट्रेड युनियन संगठनसँग छलफल गरेर उपयुक्त निकास निस्किनेछ।' उनले औद्योगिक क्षेत्रमा देखिएको श्रम समस्या समाधान गर्न यस्तो ट्रेड युनियनको विकल्प नभएको बताए। 'औद्योगिक विकासका लागि आधिकारिक ट्रेड युनियन अत्यावश्यक भइसकेको छ। उद्योगीको सुझावमा हामीले यो प्रस्तावलाई अघि बढाएका थियौं,' ठाकुरले भने।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारकाले आधिकारिक ट्रेड युनियनको अवधारणाले औद्योगिक क्षेत्रमा देखिएको श्रम समस्या समाधान हुने बताए।
'एउटा उद्योगमा ८ वटाभन्दा बढी ट्रेड युनियन छन्। ती ट्रेड युनियनको फरक फरक माग र उनीहरुको समस्यालाई सम्बोधन गर्दागर्दै उद्योग चलाउन धेरै कठिनाइ भइरहेको छ,' उनले भने, 'आधिकारिक ट्रेड युनियन भयो भने सबैको माग एउटै भएर आउँछ, उद्योगधन्दा चलाउन पनि सजिलो हुनेछ।' उनले यस्तो युनियनका लागि तीनवटा ठूला ट्रेड युनियन तयार भइसकेको बताउँदै यसले औद्योगिक क्षेत्रको विकासमा सघाउ पुग्ने दावी गरे। 'निर्वाचनपछि आधिकारिक ट्रेड युनियनसँग मात्रै श्रमको सौदावाजी हुन्छ,' मुरारकाले भने, 'यसलाई अरु युनियनले मान्छन्। यसबाट उद्योग र श्रमिक दुवैलाई फाइदा गर्छ।' प्रतिष्ठानमा धेरै ट्रेड युनियन हुँदा उद्योगमा समस्या आउँदा समाधान नभएर बन्दै भएको कटु अनुभव श्रमिकहरुले बेहोरेका छन्। गतवर्ष श्रमिककै हड्तालका कारण बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल गार्मेन्ट बन्द भएको थियो। अहिले अर्को बहुराष्ट्रिय कम्पनी केएफसी र पिज्जा हट बन्द छन्।

No comments:

Post a Comment