Tuesday, September 11, 2012

व्यवसायीको खुलमखुल्ला लुट, सरकार मुकदर्शक

काठमाडौ, भदौं २५ –नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले देशभरका व्यवसायीलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर बिक्री गर्न निर्देशन दिएको छ । एसोसिएसनको निर्देशनपछि व्यवसायीले ५० पैसादेखि एक रुपैयाँसम्म मूल्य बढाएर तेल बेचिरहेका छन् । आयल निगमले एक साताअघि सबै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको दिनमै एसोसिएसनले आफूखुसी मूल्य निर्धारण गर्ने निर्णय गरेको थियो । 
एसोसिएसनको निर्देशनपछि व्यवसायीले भैरहवा, बुटवल र दाङमा  प्रतिलिटर एक रुपैयाँ थपेर पेट्रोलियम पदार्थ बेचेका छन् । यस्तै नेपालगन्जमा ७५ पैसा र वीरगन्ज र अमलेखगन्ज क्षेत्रमा २५ पैसा बढाएर बिक्री गरिएको छ । विराटनगर, पोखरा, धनगढीलगायत क्षेत्रमा प्रतिलिटर पेट्रोलियम पदार्थ बेच्दा ५० पैसा जोडेर लिने गरिएको छ । काठमाडौं उपत्यकामैै प्रतिलिटर २५ पैसा थप लिइएको छ ।
निगमले आफ्नो डिपोबाट १५ किलोमिटर भित्रको दुरीमा उसले तोकेको मूल्यमा तेल बेच्नुपर्ने व्यवस्था गरेको छ । यो दुरीभन्दा बाहिरका पेट्रोल पम्पले भने स्थानीय प्रशासनको सहमति लिई ढुवानी भाडा थपेर तेल बेच्न सक्छ । तर एसोसिएसनको निर्देशनपछि व्यवसायीले १५ किलोमिटरभित्रै पनि थप मूल्य लिएर तेल बेचिरहेका छन् ।      ‘हामीलाई अहिलेसम्म उपभोक्ताले बढी मूल्य तिरेको उजुरी दिएका छैनन्,’ निगमका प्रवक्ता मुकुन्द ढुंगेलले भने, ‘उजुरी आए पेट्रोल पम्पलाई तेल दिन बन्द गर्नेछौं ।’  निगमले पेट्रोलियम व्यवसायीलाई पेट्रोलमा २ रुपैयाँ ४६ पैसा र डिजेल र मट्टितेलमा १ रुपैयाँ ७४ पैसा नाफा दिएको छ । यसका अतिरिक्त १५ किलोमिटर  क्षेत्र भित्र एक किलोलिटरमा २ सय २९ रुपैयाँ थप ढुवानी भाडा दिँदै आएको छ । व्यवसायीले यो सुविधाभन्दा थप रकम असुलेका हुन् । एसोसिएसनका महासचिव विश्व अर्यालले निगमको डिपोबाट १५ किलोमिटरभन्दा बढी भएकाको मात्र  भाडा जोडेर मूल्य निर्धारण गरेको दाबी गरे । ‘१५ किलोमिटरभन्दा बढी दूरीमा ढुवानी भाडा जोडेर मूल्य निर्धारण भएको साँचो हो,’ उनले भने, ‘१५ किलोमिटरभित्र निगमले तोकेकै भाडा निर्धारण हुनेछ ।’ उनले देशभर थप मूल्य निर्धारण नगरिएको दाबी गरे । निगमले झापा, विराटनगर, जनकपुर, नेपालगन्ज, धनगढीमा पेट्रोल १ सय २३ रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेलको मूल्य ९५ रुपैयाँ ५० पैसा तोकेको छ । पोखरा र दाङमा पेट्रोल १ सय २४ रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेलको ९६ रुपैयाँ ५० पैसा मूल्य तोकिएको छ । तर यी सबै क्षेत्रमा व्यवसायीले ५० पैसादेखि एक रुपैयाँ बढी मूल्य तोकेर तेल बिक्री गरिरहेका छन् ।
‘हामीले तोकेभन्दा डिजेल र मट्टितेलमा ७५ पैसा र पेट्रोलमा ५० पैसा बढीमा बिक्री गरेको जानकारी पाएका छौं,’ नेपालगन्ज डिपो प्रमुख सीताराम पोखरेलले सोमबार नागरिकसँग टेलिफोनमा भने, ‘यसबारे जिल्ला प्रशासन र वाणिज्य कार्यालयलाई जानकारी गराएका छौं ।’ विराटनगरका डिपो प्रमुख दीपक बरालले  पनि व्यवसायीले निगमले  तोकेभन्दा ५० पैसा थपेर बिक्री गरिरहेको पाएको जानकारी दिए । उनले यसबारे जिल्ला प्रशासन र वाणिज्य कार्यालयलाई जानकारी दिएको बताउँदै केही दिनमै व्यवसायीलाई बोलाउने दाबी गरे ।
सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष देवबहादुर खत्रीले निगमले तोकेभन्दा ५० पैसा बढी लिएर बिक्री गरिरहेको बताए । पेट्रोलियम पदार्थमा सबैभन्दा धेरै (एक रुपैयाँ) मूल्य बढाएको पश्चिमाञ्चल एसोसिएसनका अध्यक्ष राजेन्द्र गुप्ताले निगमले ढुवानी भाडा, बिमा र प्राविधिक नोक्सानी नदिएकाले बढी मूल्य लिनुपरेको दाबी गरे । ‘यो हाम्रो बाध्यता हो,’ उनले भने ।


No comments:

Post a Comment