Saturday, September 1, 2012

तयार हुनुहोस् तेलको मूल्यवृद्धि सहन

काठमाडौ, भदौ १६-तपाई हामी खाद्यान्नको मूल्यवृद्धिको मारमा थियौ । अब फेरी सवारी भाडाको मारमा पर्नेछौ । सरकारले तेलको भाउ बढाउन लागेको छ । यसले हाम्रो भान्छा थप महँगिनेछ । अहिले सामान्य जनताले आम्दानीबाट खानलगाउन नसक्ने अवस्था छ । फेरी तेलको मूल्य बढ्यो भने निम्न र मध्यमस्तरका लागि जिउँन मुस्किल हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि आयल निगमको घाटा १ अर्ब १७ करोड पुगेको छ । इन्डियन आयल कर्पोरेसन(आइओसी)ले सेप्टेम्बर १मा पठाएको मूल्यमा निगमको घाटा अस्वभाविक रुपमा बढेको हो । यो घाटापछि निगमले मूल्य बढाउनुको विकल्प छैन भनिरहेको छ ।  तर निगमले यसअघि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा घटाएको थिएन । त्यसैले उसलाई मूल्य बढाउनसक्ने नैतिक आधार छैन । अर्कोतिर निगमभित्रका अनियमितता र आनावश्यक खर्च घटाउन सकेको छैन । निगमका कर्मचारी मोटाउने तर निगम घाटामा जाने अवस्थाले मूल्य बढाउने आँट पनि छैन । अर्कोतिर अहिलेको कामचलाऊ सरकारले मूल्य बढाउने नैतिक साहस छैन । सबैभन्दा लोकप्रिय मानिएका बाबुराम भट्टराई प्रधानमन्त्री बनेपछि उनको लोकप्रियताको पारो शुन्यतर्फ लागिरहेको छ । उनले मुलुकको विकास र जनताको आयस्रोत उकास्ने ठूलै ढोल पिटाएका थिए । विकास, रोजगारी र आर्थिक विकासका कुनैपनि काम नगरेकोले मूल्य बढाउनसक्ने ल्याकत यो सरकारसँग छैन । मूल्य पनि नबढाउने र अनुदान पनि नदिने हो भने जनताले केही दिनमै तेल सहज रुपमा पाउने छैनन् । आइओसीले पहिलाको पैसा नतिरेको भन्दै तेल कटौती गरिसकेको छ । उसले पचास प्रतिशत तेल कटौती गरेकोले केही समयमै तेलको हाहाकार हुनेछ भने दशैअघिनै उपभोक्ताले ग्यासको हारालुछ गर्नुपर्नेछ । अगस्ट महिनामा ग्यास १० हजार टन पनि आएको छैन ।

No comments:

Post a Comment