Sunday, September 2, 2012

अर्थसचिवको दोहोरो चरित्र, प्रतिवेदन थन्क्याएर वाहिर चर्का भाषण

काठमाडौं, भदौ १७
अर्थसचिव कृष्णहरी बास्कोटाले केही ठूला सहकारीले बैक जस्तै गरी सहकारी चलाएको आरोप लगाउँदै ती सहकारीलाई कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले ठूला बचत तथा ऋण सहकारीले ५० करोड भन्दा बढीको कारोबार गरिरहेको बताएका छन् । हिजो राजधानीमा एउटा सहकारीको वार्षिकोत्सबमा उनले यो प्रतिवद्धता गरेका हुन् ।
सहकारीमा धेरै ठूलो वेथिती हुँदा पनि अर्थसचिवको हैसियतले प्रभावकारी काम भएको पाइएको छैन । अर्थमन्त्रालय, राष्ट्र बैक र सहकारी विभागले एक वर्षअघि गरिसकेको अध्ययन अर्थमन्त्रालयमा थन्किएको छ । तर सहकारीको सिद्धान्त र मर्म विपरित काम गर्ने कुनै सहकारीलाई कारवाही भएको छैन बरु ढाडस दिने काम भएको छ ।
एक वर्षको अवधिमा ती सहकारीले वित्तिय अनुशासनमा बसेका छैनन् बरु केही सहकारीका सञ्चालक पैसा लिएर भागिसकेका छन् । तर अर्थसचिव बास्कोटाले अझै पनि सार्वजनिक मञ्चमा भाषण गर्दै चेतावनी दिन भने भ्याएकै छन् ।
अर्थसचिवज्यू यसरी भाषण दिनुको साटो धुलो लागेको प्रतिवेदन खोलेर अनुशासन तोडेका सहकारी सञ्चालकलाई कारवाही गर्नुहोस् । होइन भने लोकप्रियताको ढ्वाङ फुकेर नबस्नुहोला । एक वर्षअघि अध्ययन गर्दा देखिएका सहकारी संस्थाको हालत यस्तो थियो ।



शुभश्री कोअपरेटिभ
घरजग्गा र सेयरमा लगानी गर्न विभिन्न व्यक्तिको नाममा देखाउने तर पछि ती सबै सम्पत्ती आफ्नै नाममा बनाउने गरेको देखिएको छ ।  कर्जाको म्याद सकिएपनि ब्याज, सावाँ नबुझाएको  र धेरै रकम उठ्न नसक्ने ऋणमा परिणत भएको छ  । साधारणसभामा अनुमोदन नगरी संचालकलाई ६ प्रतिशतमा ऋण प्रवाह गरेको पाइएको छ । त्यही संस्थाबाट सदस्यलाई ऋण प्रवाह गर्दा तेब्बर ब्याज लिने गरेको भेटिएको छ ।  संस्थाको ऋण सञ्चालक समिति, एकाघरका परिवारसँग बढी केन्द्रित रहेको र यी सबै ऋण उठ्न नसक्ने अवस्थामा छ । सञ्चालकले लिएको पेश्की फछ्यौंट नगरी संस्थालाई हानी पु¥याएको पाइएको छ । संस्थाले शुभश्री एकेडेमी, शुभश्री सोसियल एम्युनिटिज प्रालि लगायतका नाममा कर्जा प्रवाह गरिएको छ । संस्थाको आन्तरिक नियन्त्रण कमजोर रहेको छ ।
एवन सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ
संस्थाको कर्मचारी र संचालक एउटै रहेको भेटिएको छ ।  साधारणसभाको निर्णय विनानै अध्यक्ष र संञ्चालकलाई मोटर र पेट्रोलको सुविधा दिएको छ । कर्जा र निक्षेपमा सदस्यलाई दिने भन्दा सञ्चालकले राखेको निक्षेपमा बढी ब्याज दिएको छ । सहकारीले खरीद गरेको बैंक तथा वित्तिय संस्थाको सेयर कार्यकारी अध्यक्ष र संञ्चालकको नाममा रहेको छ । अधिकांश ऋण एकाघर परिवार, नातेदार र निजको कम्पनीमा केन्द्रित छ । सहकारीमा उल्लेखित पुँजी संरचना भन्दा फरक संस्थाको पुँजी रहेका भेटिएको छ । कर्जाको फर्म सम्वन्धित ऋणीले भन्दा अरुले भरेको पाइएको छ । ऋण लिँदाको तमसुक केरमेट गरिएको पाइएको छ । कर्जा स्विकृती सम्वन्धि कुनै फाइल भेटिएन । कर्जा नविकरण सम्वन्धि कुनै प्रक्रिया अगाडी नबढाइएको पाइएको छ ।
लालीगुराँस बहुउदेश्यिय सहकारी संस्था ललितपुर
संगठित संस्थामा लगानी गरेका पाइएको छ । राष्ट्र बैंकको स्विकृती बिना बैंकिङ कारोबार गरिरहेको छ । साधारणसभामा धेरै खर्च गरेको पाइयो । कार्यक्षेत्र वाहिर गएर निक्षेप स्विकार गर्ने र प्रवाह गरेको देखिन्छ ।  कर्जा नोक्सानीको व्यवस्था गरिएको छैन । संस्थाबाट ऋण प्रवाह गर्दा कसैसँग १८ प्रतिशत ब्याज लिएको र कसैसँग ब्याजनै नलिएको पाइएको छ ।

कल्याण सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ
जग्गा खरीद बिक्री आपसी समझदारीमा गरेर पारदर्शीता नपनाइएको भेटिएको छ । संस्थाले कर्जा प्रवाह क्षेत्र वाहिर गएर गरिएको छ । संचालक समितिमा ७ देखि ११ सदस्य हुनुपर्नेमा पाँच जना मात्र रहेको छ । सहकारी ऐनले व्यवस्था नगरेको प्रमुख संरक्षकको व्यवस्था गरिएको ।

गोरखा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ
गोरखा विकास बैंकको संस्थापक सेयरको प्रमाणपत्र संस्थाको अध्यक्ष डिबी बम्जनको नाममा रहेको पाइएको छ । संस्थाले संगठित संस्थामा लगानी गरेको छ । गोर्खा हस्पिटलमा लगानी गरेको छ । संस्थाले गरेको कर्जा बर्गीकरण नगरेको पाइएको छ । संस्थाको धितो मूल्यांकन कर्मचारीबाट बजार मूल्य अनुसार भएको छ  । संस्थाले चल्ती खाता खोलेको भेटिएको छ ।  संस्थाको संञ्चालकमा एकाघरको परिवार रहेका छन् । राष्ट्र बैंकबाट अनुमति नलिई  विदेशी मुद्राको कारोबार गरेको पाइएको छ ।

कान्तिपुर सेभिङ एण्ड कोअपरेटिभ लिमिटेड
संस्थाको सञ्चालकहरु मध्येबाट पाँच जनाले मासिक पारिश्रमिक लिएका छन् । उनीहरुले ग्रेड समेत जोडेर पारिश्रमिक लिएको पाइएको छ ।
उनीहरुले ऋण र पेश्की समेत लिएको पाइएको छ । सदस्यहरुसँगबाट तीन प्रतिशतसम्म सेवा शुल्क लिने गरेका छन् । नियमित बचतकर्तामध्ये कोहीपनि प्रवद्र्धनात्मक सदस्य नरहेको भेटिएको छ । बजार प्रतिनिधि अत्यधिक रहेका छन्  । कान्तिपुर हस्पिटल एक करोडको सेयर सदस्य बनाएर चार करोड लगानी गरेको देखिन्छ । सेयर पूँजी भन्दा १० गुणा बढी निक्षेप संकलन गरेको छ  । साधारणसभा बिना अस्पताल, फाइनान्स र विकास बैंकमा लगानी गरेको  छ । साधारणसभा नलगी गाडी खरीद गरेको पाइएको छ ।

सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड
संस्थाको ९३ प्रतिशत लगानी हाउजिङमा रहेको पाइएको छ । सहकारीबाट सिभिल होम्सका घर बिक्री गरेको देखिन्छ ।  सिमित ढुकुटी नगद विमा गरी निकै बढी रकम परिचालन गरेको छ । संस्थागत ओभरड्राफ्ट कर्जा १५ करोड रहेको भेटिएको छ ।
ओरियन्टल कोअपरेटिभ लिमिटेड
संस्थाको गैरबैंकिङ सम्पती बढेको छ । विज्ञापनमा अत्याधिक खर्च गरेको देखिन्छ । संस्थाको घरजग्गामा ६५ प्रतिशत लगानी छ  । संस्थाले अर्काको सहकारीको निक्षेप संकलन गरेको भेटिएको छ ।  ९१ प्रतिशत रकम मुद्धति खातामा राखेको देखिन्छ ।  
नवकान्तिपुर सहकारी संस्था लिमिटेड
संस्थाले रेमिट्यान्सको कारोबार गरेको छ । बार्षिक कार्यक्रम पारित नगरेको भेटिएको छ  । आंलकारिक लेखासमिति सदस्य बनाइएको र उसको नियन्त्रणमा वित्तिय अवस्था नरहेको देखिएको छ । बैंक जस्तै अन्तर शाखा कारोबार (एबीएस )सेवा संचालन गरेको छ  । सुनचाँदीमा कर्जा दिने गरेको पाइएको छ । ओभरड्राफ्टको ब्याज उल्लेख नगरिएको पाइएको छ  । विभिन्न वित्तिय संस्थामा सेयर कर्जामा लगानी गरिएको छ ।  अवैंध मानिएको ढुकुटीमा लगानी गरेको देखिन्छ ।

गुण कोअपरेटिभ
सहकारी ऐन अनुसार  सहकारीको सञ्चालक सातदेखि ११ जना हुनुपर्नेमा पाँच जना मात्र सदस्य रहेका छन् । ढुकुटी, काउन्टर र मार्गस्थमा बिमा गरिएको छैन । कार्यक्षेत्र बाहिर जिल्लामा कर्जा दिएको भेटिएको छ । साधारणसभाको बारेमा सार्वजनिक संञ्चारमाध्यममा जानकारी नदिई कार्यालयमा सुचना टाँस गरिएको पाइएको छ । कर्मचारीलाई नियुक्तीपत्र नदिई काम गराइरहेको छ । संञ्चालकहरुले पाँच प्रतिशत कममा ऋण दिइरहेको भेटिएको छ । लेखासमिति संयोजक र सदस्य संस्थाको सेयर होल्डर छैनन् । राष्ट्र बैंकको अनुमति बिना मुद्धति निक्षेप परिचालन गरिएको छ । ०६१ सालमा हुनुपर्ने नियमित साधारणसभा समेत नभएको पाइएको छ ।  टेलिभिजन, फ्रिज र मोटरसाइकलको ब्याजमा समदर प्रणाली लागु गरिएको छ ।
नेपाल सहकारी
अप्राकृतिक व्यक्तिलाई सेयर सदस्य बनाइएको छ । सेयर सदस्यले नियमित बचत गरेका छैनन् ।  कर्मचारीमा स्वेच्छिक अवकास योजना ल्याएको छ । सहकारीले रेमिट्यान्सको कारोबार गरेको छ । 

हिमालय सहकारी संस्था
संस्थाको अहिलेसम्म लगानी नीति छैन । संञ्चालक समितिको केही निर्णय नियमनकारीसँग अमिल्दो भेटिएको छ । कर्जा पूर्व र दिएपछि नियमन कमजोर रहेको भेटिएको छ ।





सीतापाइला बहुउदेश्यिय सहकारी संस्था
सहकारी ऐन विपरित एकाघरका परिवार संचालक रहेको छन् । संस्थाले विभिन्न संस्थाको सेयर र मुद्धति रसिदमा १३ लाख लगानी गरेका पाइएको छ । लेखासमिति र संञ्चालक सबैले औषधी उपचार खर्च भनेर लिने गरेका छन् । संचालकले बैठक भत्ता वाहेक मासिक ६ हजार, दशै खर्च ६ हजार र यातायात खर्च लिएको पाइएको छ । तीस लाखको ढुकुटी बिमा गरिएको तर सीमा भन्दा बढी ढुकुटीमा राखिएको भेटिएको छ । सेयर पुँजीको दश गुणा बढी निक्षेप संकलन गरिएको छ ।  संचालक भएको एकाघरका परिवारलाई धितो नलिई कर्जा प्रवाह गरिएको छ । कर्जा र निक्षेपमा दिइएको ब्याज भन्दा बढी संचालकले राखेको निक्षेपमा ब्याज दिइएको छ ।

गुण मल्टिपर्पोज कोअपरेटिभ
धित्तोका मूल्यांकन बजार मूल्य अनुसार गरेको छ । धितोको बिमा नगरेको पाइएको छ । कर्जा प्रवाह गर्दा १० कित्ता सेयर दिने तर कर्जा फिर्ता गर्दा सदस्यनै फिर्ता हुन गरेको भेटिएको छ ।  सेयर पुँजीको दश गुणा बढी निक्षेप संकलन गरेको पाइएको छ । कार्यक्षेत्र भन्दा वाहिर गएर कारोबार गरिरहेको भेटियो  ।
सुमेरु बचत तथा ऋण सहकारी संस्था
विना उदेश्य समय नतोकी संस्थाका सञ्चालकहरुले  पेश्की लिएको पाइएको छ । संगठित संस्थामा कर्जा प्रवाह गरेको छ । कर्जा प्रवाहको सन्दर्भमा लिइने धितो संञ्चालक समिति अध्यक्ष र सदस्यका नाममा दृष्ट्रि बन्धक पास गरेको भेटिएको छ । संस्थाले रेमिट्यान्स एजेन्टको रुपमा काम गरेको छ । लेखा समिति र उपसमितिमा विभाजन गरिएको छैन ।  धितोको मूल्यांकन नगरी ऋण प्रवाह गरिएको छ । एकाघरका परिवार संचालक समितिमा रहेका छन् ।। संचालक समितिमा ७ देखि ११ जना सदस्य रहनुपर्नेमा पाँच जनामा सिमित राखिएको छ ।  लामो समयदेखि संस्थाको साधारणसभा भएको छैन ।

No comments:

Post a Comment