Sunday, September 9, 2012

व्यवसायीले व्यवसायीकै निर्णय नमानेपछि.......

काठमाडौ–सरकारले तोकेको मूल्यमा २५ पैसा थपेर तेल बिक्री गर्न नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले गरेको निर्णय व्यवसायीले नमान्ने भएका छन् । आयल निगमले सोमबार मूल्यवृद्धि गरेपछि एसोसिएसनले सबै पेट्रोलियम पदार्थमा २५ पैसा थप्ने निर्णय गरेको थियो । यो निर्णय उपत्यकाका २० प्रतिशत पम्पले मात्रै लागु गरेका छन् । ८० प्रतिशत पम्पले एसोसिएसनको निर्णय अवैधानिक भन्दै कार्यान्वयन गरेका छैनन् ।
‘निगमले तोकेभन्दा बढी रकम लिएर बेच्नु गैरकानुनी हो,’ एसोसिएसनका पूर्व उपाध्यक्ष एंव जोरपाटी जुबी आयल स्टोर्सका सञ्चालक ध्रुव श्रेष्ठले भने, ‘यो निर्णयले व्यवसायीलाई झन् आलोचित बनाउँछ ।’
उनले कमिसन बढाउन निगमलाई दबाब नदिई एकतर्फी रुपमा मूल्य बढाउने निर्णय कार्यान्वयनमा ल्याउन नसकिने बताए । ‘हामीले पहिला पाउँदै आएको कमिसनका लागि सरकारलाई दबाब दिनुपर्छ । सरकारसँग नीतिगत निर्णय नगरी अतिरिक्त रकम लिँदा व्यवसायी कारबाहीमा पर्ने डर हुन्छ,’ उनले भने, ‘गैरकानुनी काम गरेको आरोप खेप्न व्यवसायी चाहँदैन ।’ निगमले अहिले तेल बिक्री वापत व्यवसायीलाई राम्रै नाफा दिएको छ । अहिले व्यवसायीले डिजेलमा प्रतिलिटर १ रुपैयाँ ७४ पैसा र पेट्रोलमा २ रुपैयाँ ४६ पैसा नाफा लिएका छन् । बाँसबारीको खड्का आयल स्टोर्सका अच्युत खड्काले जनता मूल्यवृद्धिको मारमा परिरहेको बेला अतिरिक्त रकम लिएर भारमा पार्न नचाहेको बताए ।
‘मैले निगमले तोकेकै मूल्यमा तेल बिक्री गरिरहेको छु । तोकिएको मूल्यभन्दा बढी रकम लिन सुहाउँदैन,’ उनले भने । उनले निगमले एक वर्षदेखि पाइरहेको कमिसन घटाउँदा व्यवसायी समस्या परेको बताउँदै निगमलाई दबाब दिएर कमिसन लिनुपर्ने तर आफैंले रकम जोडेर उपभोक्ताबाट लिन नमिल्ने धारणा राखे ।
‘हामीले तीन प्रतिशतको माग यथावत राखेर लिनेतर्फ लाग्नुपर्छ । आफैं निर्णय गरेर तेलको मूल्य तोक्दा पछि समस्या आउँछ,’ उनले भने, ‘त्यसैले धेरै पम्पले निगमले तोकेको मूल्यमा बिक्री गरिरहेका छन् ।’
एसोसिएसनका महासचिव विश्व अर्यालले  निगमको डिपोबाट १५ किलोमिटरभन्दा बढीको भाडा जोडेर मूल्य तय भएको बताए । ‘निगमको डिपोबाट १५ किलो भन्दा बढी दूरीमा भाडा रकम जोडिएको हो,’ उनले भने, ‘यो भन्दाबाहेक हामीले थप रकम जोडेर मूल्य तोकेका छैनांै ।’ तर एसोसिएसनका पदाधिकारीले नै राजधानीका पम्पलाई आफूले तोकेको मूल्य कार्यान्वयनमा ल्याउन निर्देशन दिएका थिए । निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवाल निगमले तोेकेभन्दा बढी मूल्यमा तेल बिक्री गर्न नपाइने जानकारी दिए । त्यसो गरे कारबाही गरिने चेतावनी उनले दिए । अग्रवालले निगमको डिपोबाट १५ किलोमिटर बढी दुरीमा पम्प रहेकाले भाडाको रकम थप्नसक्ने जानकारी दिए ।

No comments:

Post a Comment