Monday, March 4, 2013

आज कहाँ पाइन्छ तेल ?

काठमाडौं– उपत्यकाको तेल हाहाकार हटाउन नेपाल आयल निगमले साझा र सुरक्षा निकायका पेट्रोल पम्पलाई तेल दिएको छ । निगमको थानकोट डिपोबाट साझा, नेसनल ट्रेडिङ, सेना र प्रहरीलाई तेल दिएको हो । सेना र प्रहरीको आफ्नै ट्यांकरबाट तेल ढुवानी गरेका हुन् भने साझा र नेसनल ट्रेडिङलाई भने निगमसँग रहेको डिस्पेन्सरसहितको तीन वटा ट्यांकरले तेल दिएको हो ।

आयल निगम र व्यवसायीको मिलोमतोमा आन्दोलन

काठमाडौं– राजनीतिक संक्रमणको फाइदा उठाउँदै पेट्रोलियम व्यवसायीले कमिसन बढाउन तेल बिक्री ठप्प पार्ने धम्की दिएका छन् । उनीहरूको संगठन नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले आइतबार विज्ञप्ति जारी गरी यस्तो धम्की दिएको हो ।‘सरकारले हाम्रो माग सम्बोधन गरेन । त्यसैले तेल बिक्री रोक्ने निर्णय गरेका हौं,’ एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले भने, ‘विगतमै कमिसन बढाउन माग गर्दै प्रधानमन्त्रीलाई पत्र पठाएका थियौं, तर माग पूरा नभएपछि आन्दोलनमा उत्रिन वाध्य भयौं ।’ उनले हडतालका कार्यक्रम भने तय नभएको बताए । एसोसिएसनले आइतबार आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै माग सम्बोधन नभए तेल बिक्री ठप्प पार्ने चेतावनी दिएको हो ।

Saturday, March 2, 2013

कुखुराको मासुको मूल्य अब बढ्दैन

काठमाडौं –अहिलेसम्मकै महँगो भएको ब्रोइलर कुखुराको मासुको भाउ नबढ्ने भएको छ । गर्मी सुरु भएसँगै कुखुरा उत्पादनसमेत बढ्न थालेकाले मूल्य नबढ्ने व्यवसायीले बताएका छन् । अहिले उपत्यकामा कुखुराको मूल्य ३ सय १५ रुपैयाँ किलो छ । किसानले जिउँदो कुखुराको २ सय २० रुपैयाँ पाउँछन् भने उपभोक्ताले किन्दा २ सय ३० रुपैयाँ पर्छ ।  ‘ब्रोइलर कुखुराको मूल्य अब योभन्दा माथि जाँदैन । बरु आठ÷ दस दिनमा यसको मासुको मूल्य घट्न थाल्छ,’ नेपाल दाना उद्योग संघका पूर्वअध्यक्ष एंव आशापुरी ह्याचरीका सञ्चालक नारायणहरि खत्रीले भने, ‘जाडोमा कुखुराको उत्पादन कम भएकाले मूल्य बढेको हो ।’ उनका अनुसार यसपालि जाडो बढी भएकाले धेरै किसानले कुखुरा नै कम पालेका थिए ।

भारतले दिन थाल्यो तेल

आयल निगमले बक्यौता रकम तिर्ने प्रतिबद्धता जनाएपछि इन्डियन आयल कर्पोरेसन(आइओसी)ले तेल कटौती गर्न छाडेको छ। आइओसीले पूर्ववत रुपमा तेल दिन थालेको निगमले जनाएको छ। इन्डियन आयल कर्पोरेसन(आइओसी)ले झन्डै डेढ अर्ब रुपैयाँ उधारो पुगेपछि चार दिनअघिदेखि नेपालमा पेट्रोलियम पदार्थ कटौती गरेको थियो।  'आइओसीले पूर्ववत रुपमा तेल आपूर्ति गर्न थालेको छ। हामीले बक्यौता रकम तिर्ने प्रतिबद्धता जनाएपछि पूर्ववत रुपमा तेल दिन थालेको हो,' निगमका प्रवक्ता शिवप्रसाद पुडासैनीले भने, 'उपभोक्ता आतिर्नुपर्दैन।