Thursday, September 13, 2012

सर्वसाधरणको कम्पनी सनकको भरमा बन्द गर्दा किन मुकदर्शक ?

यी हुन एभरेस्ट इन्स्योरेन्स बन्द गर्ने बोर्ड सञ्चालक (बायाँबाट पहिलो अध्यक्ष राजेन्द्र खेतान)
काठमाडौ –एभरेस्ट इन्स्योरेन्स कम्पनी झन्डै सवा अर्बको कम्पनी । हिजो एकाएक सबै विमा पोलिसी र सिस्टम बन्द भयो । यो बन्द हुनुको अरु कुनै कारण थिएन थियो त यस कम्पनीका अध्यक्ष राजेन्द्रकुमार खेतानलाई विमा समितिले कारवाही । समितिले राजेन्द्रकुमारलाई कारवाही पनि कुनै आवेव वा द्धैषका आधारमा गरेको थिएन । खेतानको कम्पनी हिमालयन स्न्याक्स एन्ड कम्पनीमा आगलागीपछि दिइएको दावी भुक्तानीको अनियमितता भेटिएपछि समितिले कारवाही गरेको थियो । मायोजमा आगोलागी भएपछि सर्वेयरको प्रतिवेदन आउनुअघिनै चार करोड रुपैयाँ भुक्तानी गरेर इन्स्योरेन्सका तत्कालिन अध्यक्ष र कार्यकारी अधिकृत दोषी थिए भन्ने समितिले भनेको छ ।
यो अनियमितता भएको छैन भन्ने अधिकार खेतान र कार्यकारी अधिकृतलाई छ । तर इन्स्योरेन्स बन्द गरेर समितिलाई तर्साउन खोज्नु कानुनको खिल्ली उडाउनु हो । कानुनको खिल्ली उडाएर  इन्स्योरेन्सका अध्यक्षसहितका बोर्ड सदस्यले कसुरवाला ठहरिइसकेका छन् । सर्वसाधारणको लगानी भएको कम्पनी नौ जनाको बोर्ड सदस्यले कसरी बन्द गर्न पाउँछन् ? यो कम्पनीमा ३२ करोड रुपैयाँ सर्वसाधारणको लगानी छ । ३२ करोड लगानी रहेको कम्पनी आफुखुसी कारोबार बन्द गर्नु गैरकानुनी हो । उनीहरुलाई कानुनको कठघरामा उभ्याउनुपर्छ । यो कम्पनीको सर्वसाधारणको १० लाख १२ हजार पाँच सय कित्ता सेयर छ । जसको मूल्य कारोबार बन्द गर्नुअघि प्रतिकित्ताको मूल्य ३ सय २५ छ । सर्वसाधरणको कम्पनी प्राइभेट जस्तै खेतानले बन्द गरेका छन् । यसरी बन्द गर्दा सरकारले टुलुटुल हेरेर बस्न सक्दैन । समितिले तत्काल कम्पनी बन्द गराउने बोर्डका सबै सदस्यलाई खारेज गरेर आफ्नो नियन्त्रणमा लिनुपर्छ । होइन भने कम्पनीमा २१ हजार ९ सय १८ जनाले विमा गराएका छन् । विमा गराउँदा गतवर्ष मात्रै ७२ करोड ३२ लाख ७५ हजार उठाएको छ । सर्वसाधारणले दावी गरेको ४० करोड ६१ लाख ५७ हजार रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ । यस्तो दायित्व भएको कम्पनी कुनै व्यक्तिको सनकको भरमा बन्द गर्न पाइन्छ ? सनकको भरमा समितिलाई तर्साउन खोज्ने सबै बोर्ड सदस्यलाई कारवाही गर्नुपर्छ । यी सदस्यलाई आगामी दिनमा कुनै पब्लिक कम्पनीमा बस्ने अधिकारबाट पनि बञ्चित गर्नुपर्छ । सर्वसाधारणको लगानीमा रहेको कम्पनीमा व्यक्तिगत जस्तो राज गर्न खोज्नेलाई हदैसम्मको कारवाही हुनुपर्छ । होइन भने लहडको भरमा यसरी कम्पनी बन्द गर्ने झुन्ड बढ्नेछ र नेपालमा पब्लिक कम्पनीको विश्वास घट्नेछ ।


1 comment:

  1. खेतानले अब सहकारी खोले हुन्छ किनकी सहकारीलाई कसैले पनि अनुगमन गर्दैन

    ReplyDelete