Tuesday, September 4, 2012

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको बढ्यै, सरकार, आयल निगम र उपभोक्ताको टाउको दुखाई

काठमाडौ
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेको छ । सोमबारको तुलनामा मंगलबार कच्चा तेल एक ब्यारलमा ६७ सेन्ट बढेर १ सय १६ डलर २९ सेन्ट कायम भएको छ ।
आयल निगमले अन्तर्राष्ट्रिय स्तरमा कच्चा तेलको मूल्य बढेको भन्दै हिजैदेखि लागु हुने गरी तेलको मूल्य बढायो । मूल्य बढाउँदा पनि निगमको घाटा ७३ करोड बाँकी नै छ । मूल्यवृद्धिको विरोधमा विपक्षी दलका विद्यार्थी नेताहरुले आन्दोलन गरिरहेका छन् । मूल्यवृद्धि फिर्ता नभएमा आन्दोलन सशक्त बनाउने उनीहरुले घोषणा गरिसकेका छन् ।
तर अन्तर्राष्ट्रिय स्तरमा मूल्य बढेको देख्दा निगमले तेल ल्याउनै नसक्ने अवस्था छ । सरकारले उपयुक्त विकल्प नदिएमा तेल आपूर्ति कम हुँदै अभाव खेप्नुपर्नेछ । इन्डियन आयल कर्पोरेसन(आइओसी)ले सेप्टेम्बर १मा पठाएको मूल्य अन्तर्राष्ट्रिय बजारमा एक ब्यारलको १ सय १० अमेरिकी डलर हाराहारीको छ । यसरी हेर्दा सेप्टेम्बर १५मा आउने मूल्यमा निगमको घाटा अझै बढ्नेछ । निगमले तेलको मूल्य बढाएपछि पनि सहज आपूर्तिको ग्यारेन्टी गर्न सकेको छैन । निगम जुलाई महिनामा नाफामा जाँदा स्टक बढाएकोले दुई महिनाको लागि तेलको अभाव हुँदैन । तर दुई महिनापछि फेरी एक लिटर तेलको लागि लामो घन्टौ लाइन बस्नुपर्ने बाध्यता सिर्जना हुँदैछ । सरकारले निगमको घाटा कम गर्न रकम दिन छोडेको छ । यसैपनि जुलाईमा बढी तेल ल्याएकोले दुई अर्बभन्दा बढी तिर्न बाँकी छ । यो रकम तिर्न नसकेकोले आइओसीले तेल ५० प्रतिशत कटौती गरिसकेको छ । यसले आपूर्ति प्रभावित पर्नेनैछ । अगस्ट महिनामा ग्यास धेरै कम आएको छ । निगमका अनुसार १२ हजारको हाराहारीमा ग्यास आएको छ जबकी १७ हजारको ग्यासको माग छ । ग्यास उद्योगीले कम ग्यास आएकोले दशैमा चरम अभाव हुने बताइरहेका छन् । एकातिर आन्दोलन अर्कोतिर अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यवृद्धि । यसले कस्तो प्रभाव पर्ने हो हेर्न बाँकीनै छ ।

No comments:

Post a Comment