Saturday, February 23, 2013

साढे चार अर्बको चामल कता जान्छ ?


काठमाडौं– झन्डै साढे सात लाख खाद्यान्न बचत छ । यतिधेरै खाद्यान्न बचत भएपनि चामलको आयात भने आश्चर्यजनक रुपमा बढेको छ । ६ महिनाको अवधिमा चामलको आयात ४ अर्ब १९ करोड रुपैयाँको भएको छ । यतिधेरै चामल आयात भएर कहाँ जान्छ ? स्रोतका अनुसार भारतबाट आएको चामल चीनतर्फ जान्छ । रातीको समयमा सिन्धुपाल्चोकको बाटो हुँदै चामल चीनको स्वशासित तिब्बतमा जान्छ । विगतदेखि भारतबाट आएको मुसुरोको दाल बंगलादेश निकासी हुँदै आएको छ । यो क्रम अहिले चीनमा देखिएको छ । नेपाली व्यवसायीले यसैगरी आफुलाई व्यापारीको रुपमा देखाउने भए । नेपालका उद्योगीले उद्योग स्थापना गरेर होइन भारतमा भन्सार दर सस्तो या महँगो हुँदा हुने मार्जिनबाट मात्रै मुनाफा लिनेमा चिनिन्छन् । चामलको श्रृंखला त्यसैको हो । चालू आर्थिक वर्षको ६ महिनामा भारतबाट कृषिजन्य वस्तुको आयात व्यापक बढेको छ । यस अवधिमा चामल, तरकारी र फलफूल आयात बढेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा चामल आयात २ सय ४४ प्रतिशतले बढेर ४ अर्ब १९ करोड रुपैयाँ भएको छ । योक्रम निरन्तर भए चालू आर्थिक वर्ष ८ अर्ब रुपैयाँभन्दा बढीको चामल आयात गर्नुपर्ने अवस्था आउँछ । सरकारी अधिकारीले चामलमा आत्मनिर्भर भएको दाबी गरेका बेला भारतबाट यतिधेरै चामल आयात भएको हो । कृषि तथा सहकारी मन्त्रालयका अनुसार ७ लाख २० हजार खाद्यान्न बचत रहेको छ । यो वर्ष धान र मकै उत्पादनमा क्रमशः ११.३ र ८.३ प्रतिशत घटेको छ । चामलपछि तरकारी आयात सबैभन्दा बढी रहेको राष्ट्र बैंकको तथ्यांकमा छ । व्यवसायिक तरकारी खेतीको लहर चले पनि आयात झनै बढेको छ । यो अवधिमा भारतबाट २ अर्ब ५ करोडबराबरको तरकारी आएको छ । यो अघिल्लो वर्षको तुलनामा ६१ प्रतिशतले बढी हो । तरकारी निकासी ८ प्रतिशतले घटेर ५ करोड ५० लाख भएको छ । व्यावसायिक तरकारी खेतीको सम्भावना बढी भए पनि योजना अघि बढ्न नसकेकाले आयातमा भर पर्नुपरेको कृषि विज्ञ बताउँछन् । पछिल्लो समय नेपाली तरकारी भारतबाहेक बंगलादेश र भुटानमा पनि निकासी हुँदै आएको छ । नेपाल र बंगलादेशबीच हालै भएको व्यापार वार्तामा  तरकारीलाई भन्साररहित सुविधा दिन सहमति भइसकेको छ । बंगलादेशमा गोलभेडालगायतका तरकारी निकासी भइरहेको छ  । यस अवधिमा मासुका लागि जिउँदो चौपाया आयात २ सय ७५ प्रतिशतले बढेर ५६ करोड रुपैयाँ पुगेको छ । यही अवधिमा २३ करोडबराबरका जिउँदा चौपाया नेपालले भारत निकासी गरेको छ । खाद्यान्न उत्पादनको सम्भावना रहँदारहँदै भारतबाट आयात गर्नुपरेकाले ६ महिनामा व्यापार घाटा चुलिएको हो । यो अवधिमा व्यापार घाटा २८.४ प्रतिशतले बढेर २ खर्ब ३२ अर्ब १० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा १ खर्ब ८० अर्ब थियो । राष्ट्र बैंकका अनुसार कुल वस्तु व्यापार घाटामध्ये भारतसँगको घाटा ३०.८ प्रतिशत छ । अघिल्लो वर्ष भारतसँगको यस्तो घाटा ९.४ प्रतिशतले मात्र बढेकोे थियो । अघिल्लो वर्ष ३६.७ प्रतिशतले बढेको अन्य मुलुकसँगको व्यापार घाटा चालू आर्थिक वर्ष २४.१ प्रतिशतले बढेको छ ।

No comments:

Post a Comment