Sunday, February 24, 2013

यस्तो पो ग्यास सिलिन्डर

काठमाडौं– अहिले प्रयोग भइरहेको ग्यास सिलिन्डर दुर्घटनामा परेर विस्फोट भए कति क्षति होला ? एउटा सिलिन्डर विस्फोट हुँदा राम्रोसँग बनाएको(आरसीसी) भएको घरनै भत्किनसक्छ । ग्यास सिलिन्डर बमको रुपमा लिइन्छ । अहिले प्रयोग भएको सिलिन्डर फलामको हो । धेरै क्षति हुने भएकोले विकसित मुलुकले फलामे सिलिन्डर प्रयोगमा ल्याउन छाडेका छन् । अहिले विकसित मुलुकमा फाइबर(कम क्षति) हुने सिलिन्डरको प्रयोग गर्छन् । तर हामी भने घरनै भत्काउने सिलिन्डर प्रयोग गरिरहेका छौ । तर नेपालमा पनि अब फाइबर सिलिन्डरमा ग्यास ल्याउन बाटो खुल्ला भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले फाइबर सिलिन्डरको गुणस्तर मापदण्ड तयार गरेपछि अब कुनै पनि कम्पनीलाई फाइबर सिलिन्डर बजार ल्याउन खुला भएको हो ।
‘दुर्घटना भए क्षति कम हुने फाइबर सिलिन्डरको मापदण्ड तयार ग¥यौं । अब कुनै पनि उद्योगले यस्ता सिलिन्डर प्रयोगमा ल्याउन सक्नेछन्,’ विभागका महानिर्देशक रामआधार साहले भने । फाइबर सिलिन्डरमा आगो लागे पनि क्षति कम हुन्छ । अहिले प्रयोग भइरहेका सिलिन्डर आगो लागेर विष्फोट भए घरका सबै पूर्वाधारमा क्षति पु¥याउँछ । पछिल्लो समय युरोप र अमेरिकासहित विकसित देशमा फाइबर सिलिन्डर प्रयोग हुने गरेका छन् । भारतका केही  भागमा पनि फाइबर सिलिन्डर प्रयोग भइरहेको छ । फाइबर सिलिन्डरभित्र स्टिलको पातलो भागले बेरिएको हुन्छ । त्यसको बाहिर फाइबरले बेरेको र त्यसभन्दा बाहिर प्लास्टिकले मोडेको हुन्छ । यस्तो सिलिन्डरको तौल ८ किलो हुन्छ भने फलामे सिलिन्डर १५ किलो हुन्छ । हलुका भएकाले नेपालको पहाडी भेगमा सिलिन्डर लैजान सजिलो हुन्छ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक दिगम्बर झाले पहाडी भेगमा फाइबर सिलिन्डर उपयोगी हुने बताए ।‘अहिले मुलुकका धेरै भागमा ग्यास पुगेको छ । पहाडी भेगमा सिलिन्डर बोकेर लैजान ज्यादै कठिन छ,’ उनले भने, ‘त्यसलाई फाइबर सिलिन्डर विकल्प हुन सक्छ ।’ झाकै पालामा फाइबर सिलिन्डरबारे अध्ययन भएको थियो । निगमको एक टोलीले रुस पुगेर फाइबर सिलिन्डर बनाउने उद्योग भ्रमण गरेको थियो । उनले फाइबर सिलिन्डर पारदर्शी हुने भएकाले ग्यासमा हुँदै आएको कम तौलको समस्यासमेत अन्त्य हुने बताए । ‘अहिले ग्यास किन्दा कति तौल छ भन्ने जानकारी नै हुँदैन । हामीकहाँ जोखेर लैजाने चलनै छैन,’ उनले भने, ‘फाइबर सिलिन्डर पारदर्शी हुने भएकाले यसको समस्या पनि रहँदैन ।’ फाइबर सिलिन्डर सबै दृष्टिकोणबाट राम्रो भए पनि मूल्य भने महँगो पर्छ । ग्यास उद्योगीका अनुसार फाइबर सिलिन्डरको मूल्य ७ हजारहाराहारी पर्छ । अहिले प्रयोग भइरहेका सिलिन्डरको मूल्य २ हजार ३ सयमात्रै हो ।‘मूल्यका दृष्टिले फाइबर सिलिन्डर नेपालीको खर्च गर्ने क्षमताभन्दा बाहिर भए पनि सुरक्षित हुने भएकाले उपभोक्ताले प्रयोगमा ल्याउन सक्छन्,’ साहले भने, ‘राम्रो भएपछि केही महँगो हुनु स्वाभाविक हो ।’ योबाहेक सिलिन्डर प्रयोग सावधानीपूर्वक गर्नुपर्छ । नेपालमा ग्यास ओसारपसार गर्दा गाडी माथिबाटै फाल्ने र गुडाएर लैजाने गरिन्छ । फाइबर सिलिन्डरलाई त्यसरी ओसारपसार गर्न मिल्दैन । पछिल्लो समय आएका केही ग्यास उद्योगले फाइबर सिलिन्डर ल्याउन खोजेका थिए । तर, मापदण्ड तयार नभएकाले फाइबर सिलिन्डर नल्याइ फलामे सिलिन्डर नै बजारमा ल्याएका थिए ।

No comments:

Post a Comment