Wednesday, February 6, 2013

घरायसी उपभोक्ताले एक सिलिन्डर ग्यास अहिलेकै मूल्यमा

काठमाडौं–सरकारले घरायसी प्रयोजनका ग्यास उपभोक्तालाई फागुनदेखि अनुदान दिने भएको छ । एक परिवारले मासिक एक सिलिन्डर ग्यास अहिलेकै मूल्यमा पाउनेछन् भने व्यवसायिक प्रयोजन(होटेल, रेष्टुरेन्ट, पार्टी प्यालेस लगायत)ले भने परलमूल्य तिर्नुपर्नेछ । घरायसी र व्यवसायिक दुबैले परल मूल्यमा ग्यास किन्नुपर्नेछ । निगमले अहिले १४ सय ७० रुपैयाँमा ग्यास बिक्री गरिरहेको छ । यसमा निगमलाई ५ सय ८७ रुपैयाँ घाटा छ । यो जोडेर एक सिलिन्डर ग्यासको मूल्य २ हजार ५७ रुपैयाँमा घरायसी उपभोक्ताले किन्नुपर्नेछ । घरायसी उपभोक्ताले ५ सय ८७ रुपैयाँ भने पछि फिर्ता पाउनेछन् । अन्तर्राष्ट्रिय बजारमा हुने ग्यासमा हुने घटबढका आधारमा अनुदानको रकम घटबढ हुनेछ । व्यवसायिक उपभोक्ताले भने अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुने मूल्यको आधारमा ग्यास किन्नुपर्नेछ । घरायसी प्रयोगका उपभोक्ताले अहिलेकै मूल्यमा ग्यास पाउन भने ग्यास कार्ड लिनुपर्नेछ । एक परिवारले एउटा मात्रै कार्ड पाउनेछन् । कार्ड लिएका उपभोक्ताले ग्यास खरीद गर्दा बिल अनिवार्य लिनुपर्नेछ । ग्यास खरीदको बिल बुझाएपछि उपभोक्ताले तोकिएको मूल्य भन्दा बढीको रकम फिर्ता पाउनेछन् । उपभोक्ताले ग्यास बिक्रेताबाट कार्ड सहजै पाउन सक्छन् ।
ग्यास बिक्रेता महासंघले बिक्रेता प्रमाणिकरण भएका डिलरबाट कार्ड वितरण गरिरहेको छ । एक साताअघि ग्यास अनुदान सम्वन्धी कार्यविधि मन्त्रिपरिषद्बाट पारित भएपछि निगमले बुधवार फागुनदेखि ग्यास अनुदान कार्यान्वयनमा ल्याउने सूचना जारी गरेको हो । निगमका निमित्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले घरायसी उपभोक्तालाई फागुनदेखि अनुदान दिने जानकारी दिए ।
‘फागुनदेखि एक परिवारले मासिक एक सिलिन्डर ग्यास अनुदानमा पाउनेछन् । यसले निगमको नोक्सानी केही कम हुनेछ,’ उनले भने, ‘घरमा सस्तोमा ग्यास लिन चाहनेले कार्ड लिन आवश्यक छ ।’ उनले कार्ड नभएको उपभोक्ताले अनुदान नपाउने भएकोले आफ्नो नजिकको बिक्रेताबाट कार्ड लिएर अनुदान लिनेतिर ध्यान दिन आग्रह गरे । उनका अनुसार उपभोक्तालाई नगद अनुदान सहज रुपमा दिने वातावरणको लागि विभिन्न बैंकसँग कुराकानी भइरहेको छ ।‘हामीले विभिन्न बैंकसँग अनुदानको रकम दिन के कति शुल्क लिने हो भनेर प्रस्ताव मागेका छौ,’ अग्रवालले भने, ‘झन्डै आठ वटा बैंकले प्रस्ताव हालेका छन् । उनीहरुको प्रस्ताव हेरेर टुंगोमा पुग्नेछौ ।’ उनले बैंकको मुलुकभरको सञ्जाल र सस्तो प्रस्ताव हेरेर टुंगोमा पुगिने जानकारी दिँदै केही दिनमै निर्णयमा पुगिने जानकारी दिए ।
ग्यास उद्योगीको अझै असहमति
सरकारले चारपटक मिति तोकेर कार्यान्वयनमा ल्याउन नसकेको दुईथरी सिलिन्डर कार्यान्वयनमा नआई नगद अनुदान अन्यौंलमा छ । घरायसीका लागि अहिलेकै रातो र व्यवसायिकका लागि निलो रंग बनाउने विषयमा ग्यास उद्योगीले असहमति राखेका छन् । यो असहमति अझै पनि कायम छ । तर निगमका निमित कार्यकारी निर्देशक अग्रवाल दुईथरी सिलिन्डर बनाउन उद्योगी असहमत नरहेकोले नगद अनुदानमा कार्यान्वयनमा कुनै समस्या नरहेको दावी गर्छन् ।‘उद्योगीहरु दुईथरी सिलिन्डर बनाउन तयारनै हुनुहुन्छ । उहाँहरुका केही माग संबोधन गर्ने कुराले केही असहमति भएको हो,’ उनले भने, ‘यसको पनि केही दिनमै टुंगोमा पुगिनेछ । फागुनमा जुनसुकै हालतमा नगद अनुदान कार्यान्वयन हुनेछ ।’ उद्योगीले दुईथरी सिलिन्डर कार्यान्वयनको लागि ओभरहेड खर्च बढाउनुपर्ने, निलो रंग बनाउँदा लाग्ने खर्च बेहोर्नुपर्ने लगायतका शर्त राखेका छन् । यो शर्त पूरा हुनेवितिकै निलो सिलिन्डर बजारमा ल्याउन तयार रहेको ग्यास उद्योगीहरु बताउँछन् ।‘तीन वर्षदेखि ग्यास उद्योगको कमिसन र ओभरहेडमा कुनै हेरफेर भएको छैन । यसले उद्योग सञ्चालन गर्न नसक्ने अवस्था भइसकेको छ,’ ग्यास उद्योग संघका बरिष्ठ उपाध्यक्ष शिव घिमिरेले भने, ‘यो संबोधन हुनेवितिकै निलो रंग बनाउन कुनै समस्या छैन ।’ उनका अनुसार यो वाहेक ग्यास अनुदान दुरुपयोग गरेमा कारवाहीको बारेमा अहिलेसम्म कुनै स्पस्ट व्यवस्था गरिएको छैन ।
‘हामीले निश्चित कानुन बनाएर कसैले फट्याई गर्नेलाई कारवाहीको स्पस्ट नीति आएमा निलो रंग बनाएर उद्योगी जान तयार छन्,’ घिमिरेले भने, ‘यस्ता केही अस्पस्टतालाई सरकारले हल गर्नुपर्छ ।’

No comments:

Post a Comment