Wednesday, August 29, 2012

ग्यासको पाइपलाइन पनि नेपाल आउने

इन्डियन आयल कर्पोरेसन (आइओसी) ले एलपी ग्यासको पाइपलाइन नेपालसम्म जोड्न प्रस्ताव गरेको छ। आइओसीको ग्यास पाइपलाइन बरौनीसम्म आएको छ।
'आइओसीले ग्यास पाइपलाइन नेपालसम्म जोड्न मौखिक प्रस्ताव गरेको छ,' आयल निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले  भने, 'हामीले औपचारिक प्रस्ताव पठाउन आग्रह गरेका छांै।' आइओसीले पाइपलाइन मुजफ्फरपुरसम्म ल्याउने र त्यहाँबाट नेपालसम्म जोड्न प्रस्ताव गरेको हो। 
'आइओसीले ग्यास पाइपलाइन अहिले मुजफ्फरपुरसम्म ल्याउन लागेको छ। त्यहाँबाट नेपालसम्म जोड्न चाहेको हो,' उनले भने, 'ग्यासको पनि पाइपलाइन जोड्न सकियो भने हामीलाई फाइदा हुनेछ।'

अग्रवालले पेट्रोलियम पाइपलाइनसँगै जोडेर ग्यास पाइपलाइन ल्याउन सकिने बताए। ग्यास पाइपलाइन निर्माण भए ढुवानी भाडा सस्तो हुनेछ। अहिले ग्यास ढुवानीका लागि महँगो शुल्क तिर्नुपरिरहेको छ। बरौनीबाट काठमाडौंसम्म एक बुलेट ग्यास ल्याउँदा एक लाखभन्दा बढी रुपैयाँ तिर्नुपर्छ।
पेट्रोलियम पाइपलाइन अनिर्णित
नेपाल र भारतबीच अमलेखगन्ज-रक्सौल पाइपलाइन बनाउने १५ वर्षअघि निर्णय भए पनि अहिलेसम्म बन्न सकेको छैन। आइओसीले पाइपलाइन निर्माण गरिदिने प्रस्ताव गरे पनि अघि बढ्न सकेको छैन।
आइओसीले पछिल्लो समयमा पठाएको पेट्रोलियम पाइपलाइनको प्रस्ताव वाणिज्य मन्त्रालयमा पुगेर बसेको छ। आइओसीले अमलेखगञ्ज- रक्सौल ४१ किलोमिटर पाइपलाइन निर्माण गरिदिने र दस वर्षपछि नेपाललाई फिर्ता दिने प्रस्ताव गरेको थियो।
'हामीले आइओसीले पछिल्लो समयमा पठाएको प्रस्तावलाई वाणिज्य मन्त्रालयमा पठाएका छौं,' अग्रवालले भने, 'तर यो प्रस्ताव अघि बढ्न सकेको छैन।' आइओसीको यो प्रस्ताव मन्त्रिपरिषदबाट पारित भएपछि मात्रै निर्माण अघि बढ्छ। स्रोतका अनुसार अहिले यो परियोजना अघि बढाए विरोध हुने अनुमान गरी वाणिज्यमा प्रस्ताव पुगेर थन्किएको हो।
'भारतलाई पाइपलाइन निर्माण गर्न दिँदा सरकारको आलोचना हुने मनौवैज्ञानिक डरले प्रस्ताव थन्किएर बसेको छ,' मन्त्रालयका एक अधिकारीले भने, 'नभए यो आयोजना बढाउन कुनै गाह्रो छैन। यो परियोजनाले मुलुकलाई नै फाइदा गर्छ।'
आइओसीको प्रस्तावमा पाइपलाइन निर्माणमा लागेको खर्च पेट्रोलियम पदार्थ पठाउँदा कटाउँदै जाने उल्लेख छ। आइओसीले सात वर्षमा पाइपलाइन निर्माणमा लागेको खर्च उठाउने र बाँकी तीन वर्ष नाफा लिने प्रस्ताव गरेको छ।

No comments:

Post a Comment