Thursday, August 30, 2012

विदेशबाट फर्किएकाको शिक्षामन्त्रीले गरे प्रशंशा, गाईपालन र कृषि फर्म मात्रै होइन अरु सीप चाहियो


गैरआवासीय नेपाली संघ एनआरएनको सातौ क्षेत्रीय सम्मेलन सिड्नीमा सुरु भएको छ ।
स्थानीय होटल मेन्जिजमा तीन दिनसम्म चल्ने सम्मेलनमा शिक्षामन्त्री दिनानाथ शर्माले एनआरएनहरुलाई नेपालमा पूंजी र सीप लगानी बढाउन आग्रह गरे ।
 उनले नेपालमा इन्जिनियरिङ कलेज, मेडिकल कलेज, पोलिटेक्निक कलेजमा लगानी गर्न एनआरएनलाई आग्रह गरे ।  ‘नेपाली बिदेश आएर पैसामात्र कमाएका छैनन्,’ शर्माले भने, ‘नेपालीले धेरै सीप र सभ्यता सिकेका छन् ।  बिदेशबाट फर्कर गाइपालन, कृषि फर्म सञ्चालन उदाहरणीय बनेका छन् ।’
राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाले एनआरएनले नेपालीकै रुपमा र प्रत्यक्ष वैदेशिक लगानीका रुपमा पनि नेपालमा लगानी गर्नसक्ने बताए ।
सम्मेलनमा उद्योगमन्त्री अनिलकुमार झा र पूर्वमन्त्री भीम रावलले राजनीतिक सहमतिको वातावरण बनिरहेकोले सकारात्मक सोच्न गैरआवासीय नेपालीलाई आग्रह गर्नुभएको थियो ।
एनआरएनका संस्थापक डा. उपेन्द्र महतो, एनआरएन अध्यक्ष जीवा लामिछाने, नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार लगायतले अब एनआरएनले योजना बनाउने होइन कार्यान्वयन गरेर विश्वासको वातावरण बढाउनुपर्ने बताउनुभयो । एनआरएनका पदाधिकारीले नेपालमा लगानी गर्न दुबई सम्मेलनको घोषणा अनुसार सातौ क्षेत्रिय सम्मेलनले पनि यसै विषयमा महत्वपूर्ण निर्णय लिने बताएका छन् । उद्घाटन सत्रपछि सुरु भएको कार्यशालामा सामूहिक लगानी सम्बन्धी समितिले नेपालमा लगानीका विषयमा छलफल समेत गरेको थियो ।  इन्भेष्टमेन्ट एण्ड इनोभेसन नाराका साथ चलिरहेको सम्मेलनमा अस्ट्रेलियाबाट मात्रै पचास लाख डलर लैजाने प्रतिवद्धता आएको छ ।

No comments:

Post a Comment