Wednesday, August 29, 2012

मलेसियामा म्यानपावरको अस्वस्थ प्रतिस्पर्धा

काठमाडौ, भदौ १२
म्यानपावर व्यवसायीबीच भइरहेको अस्वस्थ प्रतिस्पर्धाका कारण मलेसिया जाने कामदारले महँगो रकम तिर्नुपरेको सरोकारवालाले बताएका छन् । वैदेशिक रोजगार पत्रकार समाजद्वारा सोमबार आयोजित मलेसिया रोजगारी चुनौति र अवसर विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले यो कुरा बताएका हुन् ।
‘नेपालीको पहिलो श्रम गन्तब्य व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धाले महँगो हुँदै गएको छ,’ उनीहरुले भने, ‘अस्वस्थ प्रतिस्पर्धा रोक्न नसकिए व्यवसायनै समाप्त हुनेछ ।’ कार्यक्रममा श्रम तथा रोजगारमन्त्री कुमार बेल्वासेले मलेसियामा देखिएको समस्यालाई संबोधन गर्न मन्त्रालय तयार रहेको बताए ।
‘मलेसियामा अहिले देखिएको समस्या हटाउन मन्त्रालय सक्रिय हुनेछ,’ उनले भने, ‘यो गन्तब्यलाई जोगाउन व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहन्छ ।’ वैदेशिक रोजगार विभागका निर्देशक सूर्य भण्डारीले खाडीको तुलनामा मलेसिया नेपालीका लागि उपयुक्त गन्तब्य भएको बताउँदै राम्रो गन्तब्यलाई जोगाउन व्यवसायीहरुले नैतिकताभित्र रहेर काम गर्नुपर्ने बताए ।
‘मलेसिया नेपालीका लागि सबैभन्दा राम्रो गन्तब्य हो । हावापानी र समाज उदार भएकोले नेपालीहरुले सहजै काम गर्न सक्छन्,’
 समाजका अध्यक्ष मदन श्रेष्ठले मलेसियामा देखिएको अस्वस्थ प्रतिस्पर्धा रोक्न व्यवसायीलाई आग्रह गर्दै अस्वस्थ प्रतिस्पर्धा गर्दा व्यवसायी र कामदार दुबै मारमा परेको बताए । कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निर्वतमान अध्यक्ष सोमलाल बटाजु, पूर्व अध्यक्ष तिलकराना भाट , प्रेम कटुवाल लगायतले अस्वस्थ प्रतिस्पर्धा रोक्न पहल गर्ने प्रतिवद्धता गरेका थिए ।

No comments:

Post a Comment