Monday, March 4, 2013

आयल निगम र व्यवसायीको मिलोमतोमा आन्दोलन

काठमाडौं– राजनीतिक संक्रमणको फाइदा उठाउँदै पेट्रोलियम व्यवसायीले कमिसन बढाउन तेल बिक्री ठप्प पार्ने धम्की दिएका छन् । उनीहरूको संगठन नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले आइतबार विज्ञप्ति जारी गरी यस्तो धम्की दिएको हो ।‘सरकारले हाम्रो माग सम्बोधन गरेन । त्यसैले तेल बिक्री रोक्ने निर्णय गरेका हौं,’ एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले भने, ‘विगतमै कमिसन बढाउन माग गर्दै प्रधानमन्त्रीलाई पत्र पठाएका थियौं, तर माग पूरा नभएपछि आन्दोलनमा उत्रिन वाध्य भयौं ।’ उनले हडतालका कार्यक्रम भने तय नभएको बताए । एसोसिएसनले आइतबार आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै माग सम्बोधन नभए तेल बिक्री ठप्प पार्ने चेतावनी दिएको हो ।
‘तत्काल माग सम्बोधन गर्न आग्रह गरेका छौं,’ उनले भने, ‘सुनुवाइ नभए हडताल गर्छौं ।’ व्यवसायीले पाँच प्रतिशत कमिसन बढाउनुपर्ने माग गरेका छन् । हाल व्यवसायीले एक लिटर तेल बेच्दा दुई रुपैयाँ कमिसन पाउँछन् । निगमले पेट्रोलको मूल्य घटाउँदा पेट्रोलियम व्यवसायीले पाउँदै आएको कमिसन बढाएको थियो । कुनै दबाबबिना कमिसन बढाउने निर्णय शंकास्पद मानिएको थियो । उनीहरूले रकम उठाउन गरेको निर्णयको माइन्युट सार्वजनिक भएपछि निगमले बढाएको कमिसन फिर्ता गरेको थियो । एसोसिएसनले गत पुस ६ मा भएको निर्णय कार्यान्वयन गर्न दबाब दिएको हो । ‘कार्यान्वयन भए हडतालका कार्यक्रम आउँदैनन्,’ प्रधानले भने । व्यवसायीले दिएको धम्की एसोसिएसन पदाधिकारी र निगम व्यवस्थापनको मिलेमतोपछि आएको सम्बद्ध स्रोतले दाबी गरेको छ । ‘एसोसिएसनको धम्की ‘तँ कुटेजस्तो गर, म रोएजस्तो गर्छु’ भनेजस्तै हो,’ स्रोतले भन्यो, ‘दबाब नदिई सम्बोधन हुँदैन भनेर रणनीतिमा यो कार्यक्रम आएको हो ।’

No comments:

Post a Comment