Tuesday, November 27, 2012

यसरी सकियो तयारी पोसाक उद्योग

काठमाडौं–मुलुकमा पाँच वर्षदेखि एउटा पनि नयाँ तयारी पोसाक उद्योग खुलेका छैनन् । राजनीतिक अस्थिरता र अमेरिकामा कोटा खारेजीलगायत कारण उद्योग नखुलेका हुन् ।‘त्यति लामो अवधिमा एउटा पनि तयारी पोसाक उद्योग खुल्न सकेन । राम्रो माग नआएपछि उद्योगलाई ‘पार्ट टाइम’ मात्रै गरिरहेका छांै,’ नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष उदयराज पाण्डेले भने, ‘डिमान्ड कुरेर बस्यो आउँदैन । नआएपछि उद्योग छोडेर अन्य व्यवसाय गर्नुको विकल्प छैन ।’ तयारी पोसाक उद्योग पुनरुत्थानको सम्भावना कम हुँदै गएकाले नयाँ लगानीकर्ता नआएको उनले बताए ।‘हाम्रोमात्र होइन अरू निकासीमूलक उद्योगको पनि यस्तै हालत छ,’ उनले भने, ‘अहिले धेरै निकासीकर्ता पार्ट टाइममात्रै उत्पादन गर्छन् ।’ हाल ३५ तयारी पोसाक उद्योगमात्र सञ्चालन छन् । विगतमा चलिरहेका उद्योग धमाधम बन्द भएका थिए । पछिल्लो पटक मजदुर हडतालका कारण बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल गार्मेन्ट बन्दै भयो । यी उद्योगमध्ये कुनै पनि बाह्रै महिना चल्दैनन् । तयारी पोसाक माग आएपछि उद्योग चलाउने र नभए बन्द हुने गरेको छ ।
वर्षभरि नै उद्योग नचल्ने भएकाले कामदार पनि करारमा राखिन्छ । धेरै लगानीकर्ता उद्योग चलाएर झझन्ट बेहोर्ने पक्षमा छैनन् । उद्योग खोल्दा मजदुर समस्या, तोकिएको समयमा तयारी पोसाक पु¥याउन नसकिनेजस्ता झझन्ट बेहोर्ने कोही चाहँदैनन् । केही उद्योगीले भएको उद्योग आफैं नचलाइ बाहिरबाट ‘आउट सोर्सिङ’ गरिरहेका छन् । ‘विगतकै सम्बन्धका आधारमा तयारी पोसाकको माग आएपछि पठाउनुपर्ने अवस्था छ । तर, भएको उद्योग चलाउन नसक्ने भएपछि साना उद्योगमा बनाउन दिएर पठाइरहेका छन्,’ पाण्डेले भने ।उनका अनुसार ठमेललगायत क्षेत्रमा २०÷२५ मेसिन राखेर चलिरहेकालाई काम दिएर पठाउने गरिएको छ । पछिल्लो समय निकासी व्यवसायीलाई सरकारले प्रोत्साहनका लागि नगद अनुदानको व्यवस्था गरेको छ । योबाहेक पछिल्लो दुई वर्षमा ठूलो बन्द, हडताल भएको छैन ।‘बन्द, हडताल कम भए पनि अझै राजनीतिक अस्थिरताका कारण थप लगानी गर्न सक्ने अवस्थामा कोही छैन,’ उनले भने, ‘त्यसैले तयारी पोसाक उद्योग दयनीय बनेको छ ।’ उद्योगीले निकासी प्रवद्र्धन र बजारीकरणमा खासै पहल नगरेको उनले बताए ।समयमा तयारी पोसाक निकासी गर्न नसकेपछि खुद्रा व्यापार कम्पनी ग्याप, वालमार्ट, चिल्ड्रेन प्यालेस र किड्स इन्टरनेसनलले नेपालबाट सामान लिन छाडिसकेका छन् । सन् २००१ देखि २००३ मा  नेपालबाट सबैभन्दा बढी तयारी पोसाक निकासी हुन्थ्यो । २००४ पछि अमेरिकामा कोटा खारेजीसँगै तयारी पोसाक निकासी संकटमा प¥यो । पछिल्लो समय युरोप निकासी हुन थालेको तयारी पोसाक निकासी झन् घटेको छ । चालु आर्थिक वर्ष पहिलो त्रैमासिकमा तयारी पोसाक निकासी ३०.७ प्रतिशतले घटेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा १ अर्ब ४ करोड रुपैयाँबराबरको निकासी भएको छ । गत वर्ष १ अर्ब ५० करोडको निकासी भएको थियो ।



No comments:

Post a Comment