Wednesday, December 12, 2012

टाट उल्टिएपछि उद्योगी पनि भासिए मुग्लान

काठमाडौं–नेपाल तयारी पोसाक उद्योग संघका निर्वतमान अध्यक्ष प्रशान्त पोखरेल एक वर्षदेखि अमेरिकामा छन् । तयारी पोसाकको निकासी निरन्तर घटेपछि उनी उद्योगै छाडेर अमेरिका गए । उनले अम्मी एपरल्स पार्टनरलाई बिक्री गरेका थिए । यही पेसामा लामो समय लागेका दिनेश शर्मा, ऋषि ढकाललगायत पनि अमेरिका गइसकेका छन् । राजनीतिक अस्थिरता, बन्द हड्ताल लगायतले संकटमा परेको तयारी पोसाक उद्योग सन् २००४देखि अमेरिकाको कोटा खारेजी पछि थप समस्यामा प¥यो । पछिल्लो समय तयारी पोसाक उद्योगबाट पलायन हुने  र अन्य व्यवसायमा जानेको उद्योगीको लर्को नै छ । उत्पादित तयारी पोसाक बन्द, हड्तालले समयमा पठाउन नसक्दा कतिपय उद्योगी टाट पल्टिए । संघका अनुसार एकीकृत माओवादी शान्ति प्रक्रियामा आएपछि ४० भन्दा बढी उद्योगी अमेरिका पलायन भए । उनीहरुले माओवादीको धम्कीले उद्योग चलाउन नसकेको भन्दै अमेरिका भासिएका हुन् । ‘माओवादीको धम्की आएको भनेर ४० जना उद्योगी अमेरिका गए । अमेरिका गएका कतिपय व्यवसाय गरेका छन् त कतिपय रोजगारी गरेर बसेका छन्,’ एक तयारी पोसाक उद्योगीले भने, ‘निकासी उद्योगमा लागेका उद्योगीको अवस्था सोचेभन्दा धेरै फरक छ ।’ उनका अनुसार तयारी पोसाक लगायतका व्यवसायमा नयाँ उद्योगीहरु लगानी गर्न आए । ‘ठूला घरानाले तयारी पोसाक लगायत निकासीमूलक उद्योगमा लगानी गरेनन् ।
उनीहरु आयात व्यवसायमा संलग्न भए,’ ती उद्योगीले भने, ‘नयाँ आएका उद्योगीले भेउ नै नपाएर संकटमा परे । उनीहरु घर न घाटका भए ।’ उनका अनुसार टाट पल्टिएका कतिपय उद्योगी भारतका तयारी पोसाक उद्योगमा समेत काम गरिरहेका छन् । निकासीमूलक उद्योगबाट गुमाउने मात्रै छैनन् । कतिपय उद्योगीले तयारी पोसाक उद्योगीले कमाएर अरु व्यवसाय परिवर्तन गर्नेहरु पनि धेरै नै छन् । सुव्रत धितालले तयारी पोसाकमा राम्रो कमाइ गरेर जलविद्युतमा लगानी गरेका छन् । कटन कम्र्फट नामको तयारी पोसाकबाट राम्रै आम्दानी गरेपछि उनले जलविद्युतमा लगानी गरेका छन् । उनको उद्योग बन्द भइसकेको छ । तयारी पोसाककै उद्योगी गणेश अग्रवाल सञ्चार माध्यम र घरजग्गाको कारोबारमा छन् । तयारी पोसाकका राम्रा उद्योगी श्याम खेतान अहिले घरजग्गाकै कारोबारमा छन् । ‘तयारी पोसाकको निकासीबाट प्रगति हुने नदेखेर धेरै उद्योगीले अरु नै व्यवसायमा लागेका प्रशस्तै छन्,’ ती व्यवसायीले भने, ‘कुनै पनि उद्योगीले कुरेर बस्न सक्दैन र अरु व्यवसायमा जानैपर्छ ।’ शिवानी फेसनका भरत ढकाल पनि अहिले घरजग्गा कारोबारमा संलग्न छन् । योबाहेक विनिता एपेरल्सका केदार पौडेल प्रिन्टिङ प्रेस चलाएर बसिरहेका छन् । सन् २००१ देखि २००३ मा  नेपालबाट सबैभन्दा बढी तयारी पोसाक निकासी हुन्थ्यो । २००४ पछि अमेरिकामा कोटा खारेजीसँगै तयारी पोसाक निकासी संकटमा प¥यो । पछिल्लो समय युरोप निकासी हुन थालेको तयारी पोसाक निकासी झन् घटेको छ । चालु आर्थिक वर्ष पहिलो त्रैमासिकमा तयारी पोसाक निकासी ३०.७ प्रतिशतले घटेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा १ अर्ब ४ करोड रुपैयाँबराबरको निकासी भएको छ । गत वर्ष १ अर्ब ५० करोडको निकासी भएको थियो । सन् २००० मा अमेरिकातर्फ सबैभन्दा बढी १६ करोड अमेरिकी डलर बरारबरको तयारी पोसाक निकासी भएको थियो ।
त्यो बेलामा सबैभन्दा धेरै तयारी पोसाक निकासी भएको थियो । यो बेला १ हजार २ सय उद्योग दर्ता भएका थिए भने ५ सय पूर्ण रुपमा सञ्चालनमा थिए । ९० हजार व्यक्तिले प्रत्यक्ष रुपमा रोजगारी पाएका थिए । योसँग सम्बन्धित अन्य पचास उद्योग पनि चलेका थिए ।  अहिले आश्रित सबै उद्योग पनि बन्द भइसकेका छन् भने अहिले ठूला उद्योग अस्तित्वमै छैनन् । अहिले २०÷२५ वटा मेसिन राखेर तयारी पोसाक बनाउनेहरुले तयारी पोसाक निकासी गरिरहेका छन् । तयारी पोसाक मात्रै पस्मिना र गलैंचा उद्योगीसमेत पलायनको क्रम उस्तै छ । नेपाल गलैंचा निकासीकर्ता संघका अनुसार राजनीतिक अस्थिरता, मजदुर विवाद लगायत कारणले निकासी घटेपछि उद्योगी पलायन हुने क्रम बढेको छ ।‘गलैंचाको निकासी घटेपछि वैकल्पिक व्यवसायतिर धेरै उद्योगी गएका छन् । कतिपय उद्योगी अमेरिका पलायन भइसकेका छन्,’ संघका अध्यक्ष अनुपबहादुर मल्लले भने । उनका अनुसार गलैंचा निकासीबाट समस्या भोगेपछि अमेरिका पलायन हुनेको क्रम बढेको हो । ‘अमेरिका जानेको तथ्यांक त छैन । तर, धेरै उद्योगी अमेरिका गएर आफूलाई सेटल गरिसकेका छन्,’ उनले भने ।  मल्लले कतिपय उद्योगी निकासी उद्योग बन्द गरेर आयात व्यवसायमा लागेको बताउँदै सम्भावना नै नदेखेपछि वैकल्पिक व्यवसायमा जानु बाध्यता रहेको बताए । समयमा गलैंचा निकासी गर्न नसक्दा धेरै अघि नै विदेशका राम्रा क्रेता विसनब्याच, किब्डकेटिप्च, एटलस ग्रुप लगायत गुमिसकेसकेका छन् । सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने गलैंचाको निकासी खुम्चिएर गत वर्ष ६ लाख ८४ हजार वर्गमिटरमा सीमित भएको छ । 
अघिल्लो वर्ष ८ लाख वर्गमिटर गलैंचा निकासी भएको थियो । विगतमा मजदुर विवादले समस्यामा परेको गलैंचा उद्योग अहिले भने मजदुर अभावका कारण मागअनुसार उत्पादन गर्न नसक्ने अवस्थामा पुगेको छ । निकासीमूलक उद्योग पस्मिनाको हालत पनि तयारी पोसाक र गलैंचाको भन्दा फरक छैन । ‘पस्मिना उद्योगलाई छाडेर अन्य व्यवसाय गर्नेहरु छन् । कोही पनि एउटै व्यवसायमा लागिरहन सक्दैन,’ नेपाल पस्मिना उद्योग संघका अध्यक्ष पुष्पमान श्रेष्ठले भने, ‘कतिपय पस्मिना व्यवसायी घरजग्गा कारोबारमा लागेका छन् ।’ विगतमा पश्चिमी बजारमा  ‘हट केक’ बनेको पस्मिनाको निकासी पनि घटेको छ ।  सामूहिक ट्रेडमार्क दर्ता गरेर उद्योगी अगाडी बढेपनि निकासी भने बढ्न सकेको छैन । निकासी घटेपछि कतिपय उद्योगी अन्य व्यवसायतर्फ लागेका हुन् ।  २०५७÷०५८ मा आठ अर्ब रुपैयाँका पस्मिनाका सामान निर्यात भएकामा अहिले घटेर एक अर्ब ६७ करोडमा पुगेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालु वर्षको पहिलो त्रैमासिकमा ५२ करोड बराबरको पस्मिना निकासी भएको थियो । गत वर्षको सोही अवधिमा ६२ करोड बराबरको पस्मिनाका सामान निकासी भएको थियो । मुलुकभर पहिले १ सय ६० उद्योग सञ्चालनमा रहेकामा अहिले करिब ८२ वटामात्र चलेका छन् । उद्योगहरुमा ५० हजार कामदारले काम पाएका थिए । यसमध्ये २५ हजारभन्दा माथि महिलामात्र थिए । नेपाली पस्मिना र यसबाट बनेका अन्य सामान ७५ वटा मुलुकहरुमा जाने गरेको थियो । अहिले खुम्चिएर ४० मा झरेको छ । पस्मिनासँगै सल, स्विटर, ब्लान्केट, स्काफ, मफलर, ओभरकोटजस्ता सामान पनि विदेश जाने गरेका छन् ।

No comments:

Post a Comment