Thursday, September 13, 2012

बीबी एयरवेजको जहाज नेपाल आयो

काठमाडौ –गैरआवासीय नेपालीको लगानीको बीबी एयरवेजको जहाज नेपाल आएको छ । विहिवार दिउसो पौने एक बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यो जहाज अवतरण गरेको थियो । कम्बोडियाको सियाम रिपबाट २०१ पर्यटकहरु लिएर आएको बोईङ ७५७–२०० विमानबाट बीबी एयरवेजले आफ्नो उडान थालेको हो ।बिमान अवतरण गर्ने बित्तिकै आफ्नो सन्तुष्टि व्यक्त गर्दै बीबी एयरवेजका अध्यक्ष भवन भट्टले भने, “यो हाम्रो मात्र उपलब्धि होईन, सम्पुर्ण देशकै उपलब्धि हो ।” “यो उडानले देशको आर्थिक उन्नतिको लागि नयाँ आयाम थपेको छ र हामी अझ अघि बढ्नका लागि धेरै उत्साहित भएका छौं,” भट्टले भने । बीबी एयरवेजको यो चार्टर उडान कम्बोडियाको टोन्ले साप कम्पनीसँग संयुक्त रुपमा संचालन गरिएको छ । एयरवेजले आफ्नो नियमित उडान असोज २५ गतेदेखि संचालन गर्दैछ ।
उक्त नियमित उडान मलेसियाको क्वालालम्पुर र चीनको हङकङ तर्फ हुनेछ भने जापानको नारिताका लागि पनि एयरवेजले हप्ताको दुईवटा चार्टर उडान गर्नेछ ।
“नेपाल सम्मको उडान साह््रै सजिलो र आरामदायक भयो । म बारम्बार नेपाल आउन पाएमा अत्यन्त हर्षित हुनेछु,” बीओ ४२८ जहाजका क्याप्टेन भादिम प्रुड्निकोभ्सले भने ।
एयरवेजले क्वालालम्पुरसम्म साप्ताहिक रूपमा चार पटक र हङकङमा तीन पटक उडान भर्नेछ । क्वालालम्पुरका लागि सोमबार, बिहीबार, शनिबार र आइतबार उडान हुनेछन् भने हङकङका लागि मंगलबार, शुक्रबार र आइतबार उडान हुनेछन् । एयरवेजको भाडादर काठमाडौंबाट क्वालालम्पुर र फिर्तिका लागि रु ३६,०००÷–  बाट शुरु हुन्छ । हङकङका लागि भने काठमाडौं–हङकङको दोहारो भाडादार रु ४८,०००÷– बाट आरम्भ हुनेछ । “त्रिभुवन विमानस्थलमा एउटा जहाज अवतरण हुनु ठूलो कुरा नहोला तर निजी क्षेत्रको संलग्नताबाट भएको नेपालको अन्तर्राष्ट्रिय उड्डयनको ईतिहासमा एउटा ठूलो फड्को हो,” एयरवेजका प्रबन्ध निर्देशक शिशिर भट्टले भने ।  बीबी एयरवेजले आफ्नो उडान एक बोइङ ७५७–२०० बाट आरम्भ गर्ने छ र छिट्टै नै अर्को बी–७५७  थप्ने छ । दोस्रो एयरक्राफ्ट थपिनेवित्तिकै एयरवेजले आफ्नो सेवालाई बैंकक, सिंगापुर, नयाँ दिल्ली र दोहामा विस्तारित गर्ने छ । छिट्टै नै थप दुई बोइङ ७६७ थपेर यसले युरोप तथा अष्ट्रेलियामा उडान भर्नेे योजना बनाएको छ ।



No comments:

Post a Comment