Wednesday, October 10, 2012

अचेल किन उद्योग जाँदैनन् अधिकांश उद्योगी ?

काठमाडौ– दसैं नजिकिँदै गर्दा विभिन्न राजनीतिक दल, क्लब र सामाजिक संगठनको नाममा चन्दा दिन दबाब आउन थालेपछि उद्योगी व्यवसायी कार्यालय जान कम गरेका छन् । चन्दाका लागि धम्क्याउने क्रम बढेपछि उद्योगी व्यवसायीले मोबाइल नम्बर परिवर्तन गर्ने, विदेश जाने र नचिनेको नम्बर नउठाउने गर्न थालेका छन् ।‘राजनीतिक दल, क्लब र सामाजिक संस्थाका नाममा चन्दा माग्न आउने क्रम अहिले बढेको छ,’ मुरारका अर्गनाइजेसनका सञ्चालक एंव नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारकाले भने, ‘अहिले आएको चन्दाको रकम धान्नै नसक्ने अवस्थामा छ ।’ उनका अनुसार गत वर्षभन्दा अहिले चन्दा माग्न आउने समूह दोब्बरभन्दा बढी छन् । उनले राजनीतिक दलका भातृ संगठनले धम्की नै दिएर चन्दा माग्ने गरेको बताए । ‘राजनीतिक दलका भातृ संगठनले दसै खर्चका लागि लाखौं रकम धम्की दिएर माग्न थालेका छन्,’ मुरारकाले भने, ‘योबाहेक टोलका क्लब, कर्मचारी संगठन, सामाजिक संस्थाको उस्तै बिगबिगी छ ।’ उनले दसैंको समयमा मोबाइल बन्द गर्ने वा विदेश जानुको विकल्प नरहेको जानकारी दिए । ‘अहिलेको चन्दा आंतक उद्योगी व्यवसायीले धान्नसक्ने अवस्था छैन ।
यो बेलामा विदेश जाने वा मोबाइल बन्द गर्ने दुई विकल्प छन्,’ उनले भने, ‘होइन भने चन्दाका लागि लाखौं रुपैयाँ दिनुपर्ने अवस्था छ ।’ मुरारकाका अनुसार चन्दा माग्न आउने समूहमात्रै होइन रकम समेत बढेको छ । ‘पहिला पाँच हजार चन्दा माग्ने समूहले अहिले २० हजार मागिरहेका छन्,’ उनले भने, ‘चन्दाको डिमान्ड नै चर्को भएको छ ।’
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेश बस्नेतले व्यवसायीलाई ठूलो रकमसहितको चन्दाको धम्की आएको बताए । ‘दसैंका लागि ठूलै रकम माग्ने समूहको धम्की आएको व्यवसायीले जानकारी गराएका छन्,’ उनले भने, ‘हामी सामाजिक प्राणी भएकाले केही रकम सहयोग गर्नु स्वभाविक हो तर धान्नै नसक्ने चन्दा दिन सकिँदैन ।’ उनले व्यवसायीलाई धम्कीसहित चन्दा माग्ने प्रवृत्ति पछिल्लो समयमा बढ्दै गएको बताए । ‘चन्दाको रकम र धम्कीको रकम बढेको छ । भातृ संगठनको नामबाट बढी रकम र धम्की आएको छ,’ बस्नेतले भने, ‘यसबारे हामीले व्यवसायीसँग छलफल गरेर समस्या समाधानका लागि पहल गर्नेछांै ।’ उनका अनुसार व्यवसायीसँग ५० हजारदेखि ५० लाख रुपैयाँसम्म चन्दा मागिएको छ । फ्युजन इन्टरनेसनलका प्रबन्ध निर्देशक एंव नेपाल वैदेशिक रोजगार व्यवसायी संघका द्वितीय उपाध्यक्ष कुमुद खनाललाई चन्दाले दसैं–तिहार नै नआइदियोस् जस्तो लाग्छ । ‘चन्दा आंतकले दसैं–तिहार नै नआइदियोस् जस्तो लाग्छ । अहिले कार्यालयको ढोका बन्द गरेर बसिरहेको छु,’ उनले भने, ‘लुकेर कार्यालय आउने र लुकेर घर जाने गरिरहेको छु ।’ उनले दसैंका लागि झन्डै ५० लाख रुपैयाँ चन्दाका लागि माग आएको बताए ।‘व्यवसाय गर्नेले दसैंका लागि ५० लाख कताबाट ल्याउने ?’ खनालले प्रश्न गर्दै भने । उनले राजनीतिक दलको भातृ संगठनको चन्दा आतंक बढी रहेको बताए । ‘रकमै तोकेर यति रकम नदिए राम्रो हुँदैन भन्छन् । यसरी धम्की दिनेमा भातृ संगठन र मुन्द्रेहरु बढी छन्,’ उनले भने ।
सामसङ मोबाइलका लागि नेपालको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेसका प्रबन्ध निर्देशक दीपक मल्होत्राले दसैंमा विभिन्न संस्थाको नाममा चन्दा माग्न आउने समूह असाध्यै बढी भएको बताए ।‘दसैंको बेलामा यो पालि असाध्यै धेरै समूह आएका छन्,’ उनले भने, ‘ती समूहले मागेको चन्दा दिन सकिने अवस्थै छैन ।’ उनी दसंै आएपछि आफ्नो कार्यालय जानै कठिन भएको बताउँछन् । ‘कार्यालय गए चन्दा माग्न आउनेले हैरान हुन्छ नबसे व्यवसाय चलाउनै सकिँदैन,’ मल्होत्राले भने, ‘कुनै चाडपर्वमा व्यवसायीलाई रमाइलो गर्न र खुसी मनाउनै नपाउने अवस्था आयो ।’ग्यास उद्योग संघका महासचिव कुश मल्लीका अनुसार सबै ग्यास उद्योगीलाई लाखौं रकमसहित चन्दाको रसिद आएको छ । ‘सबै ग्यास उद्योगीलाई लाखांै रकम माग गर्दै रसिद आएको छ । सहयोग माग्न आएको रकम दिनसक्ने अवस्था उद्योगीलाई छैन,’ उनले भने, ‘राजनीतिक दलका भातृ संगठन र युवा क्लबको नाममा आएको चन्दा रकम नदिए भविष्यमा उद्योग चलाउन सकिदैन ।’ सरकारले अनुगमन गरेर चन्दा माग्ने समूहलाई नियन्त्रण गर्न नसके विकृति अझै फस्टाउने उनी बताउँछन् । ‘कानुनी राज्य नभएकाले अहिले यस्तो अवस्था आएको हो । सरकारका निकाय गृहमन्त्रालयले प्रभावकारी अनुगमन गरे चन्दा आंतक नियन्त्रणमा आउँछ,’ मल्लीले भने, ‘होइन भने यो विकृतिले चरम रुप लिनेछ ।’ उनले सरकारले चन्दा माग्ने समूहलाई नियन्त्रण गर्न कुनै कदम नचालेकाले उद्योगी लुकेर बस्नुपर्ने अवस्था आएको गुनासो गरे । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ राजनीतिक दलको नाममा आएको चन्दा आंतक धान्नै नसक्ने रहेको बताउँछन् । ‘दसैंको चन्दाको रकम दिनै नसक्ने भएकाले चिनेको मोबाइल मात्रै उठाउने गरेको छु,’ उनले भने, ‘नचिनेको मोबाइल उठाएको छैन ।’

No comments:

Post a Comment