
‘ग्यासमा भएको बेथितिलाई रोक्न आवश्यक छ । स्वचालित नभएका बोटलिङ प्लान्ट बन्द गरिनुपर्छ,’ उनले भने । पौडेलले सरकारले घाटा खाएर नाफा सुनिश्चित गरिएको ग्यास क्षेत्रमा समेत व्यवसायीकोअवरोध गरिरहेको भन्दै ग्यास उद्योगी गैरजिम्मेवार बन्दासमेत निगमले कुनै कारबाही गर्न नसकेको आरोप लगाए ।
‘गत वर्ष ग्यासमा राज्यलाई साढे पाँच अर्ब नोक्सानी भयो । नोक्सानी बेहोरेर नाफाको सुनिश्चित गर्दासमेत व्यवसायीले आपूर्तिमा अवरोध गरेर गैरजिम्मेवार बनिरहेका छन्,’ उनले भने । उनले उद्योगीले सोझै बोटलिङ प्लान्टबाट बिक्री गर्दा मूल्य नघटाएको बताए । ‘उद्योगबाट तीन तहको नाफा खाएर बिक्री गरेको मूल्य र सोझै उद्योगबाट बिक्री भएको मूल्य एउटै भयो,’ उनले भने, ‘सोझै बिक्री गर्दा मूल्य घटाएर बेच्नुपर्छ ।’ उनले दुईथरी सिलिन्डर कार्यान्वयनमा ल्याउन उपभोक्ता र व्यावसायिक कार्ड वितरण सुरु गरे पनि प्रभावकारी नभएको बताउँदै दुईथरी सिलिन्डर कार्यान्वयनमा असहयोग गर्नेलाई कडा कारबाही हुने चेतावनी दिए । ‘कार्ड वितरणलाई प्रभावकारी बनाउनुहोस् जसले कार्ड वितरणमा असहयोग गर्छ उसलाई कारबाही हुन्छ,’ पौडेलले भने । उनले निगमको व्यवस्थापन प्रभावकारी नहुँदा आपूर्तिको झमेला बेहोर्नुपरेको आरोप लगाए । प्रधानमन्त्री बाबुराम भट्टराईले सामाजिक न्याय हुनेगरी घरेलु र व्यावसायिक दुईथरी सिलिन्डर कार्यान्वयनमा ल्याउन लागेको बताउँदै कात्तिकदेखि दुईथरी सिलिन्डर कार्यान्वयनमा आउने दाबी गरे । ‘सरकारले व्यावसायिक प्रयोजनमा प्रयोग हुने ग्यासमा पनि घाटा खानु भनेको विकास निर्माणलाई रोक्नु हो,’ उनले भने, ‘त्यसैले दुईथरी मूल्य मूल्य कार्यान्वयनमा ल्याउन आवश्यक छ ।’ पूर्ववाणिज्यमन्त्री लेखराज भट्टले पेट्रोलियम नीति बनाउन नसक्दा यो क्षेत्रलाई व्यवस्थित गर्न नसकिएको बताए । ‘अहिलेसम्म पेट्रालियम नीति आएको छैन । यही नीतिको अभावले समस्या समाधान हुन सकेको छैन,’ उनले भने । उनले ग्यासमा लाग्दै आएको भ्याट हटाउन आवश्यक भएको बताउँदै खाना पकाउने ग्यासमा भ्याट हटाउने विषयमा अर्थ मन्त्रालयले असहयोग गरेको आरोप लगाए । भट्टले अभाव भएको मौका छोपेर उपभोक्ता ठग्ने प्रवृत्ति बिक्रेतामा समेत रहेको आरोप लगाए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले ग्यास भ्याट भारतमा समेत नरहेको बताउँदै भ्याट हटाउन सरकारसँग माग गरे । उनले सुरक्षित र मापदण्डभित्र नरहेका बोटलिङ प्लान्ट तत्काल सुधार गर्नुपर्ने बताए । उनले पेट्रोलियम पदार्थमा भएको परनिर्भरता घटाउन वैकल्पिक ऊर्जामा जोड दिनुपर्ने बताए । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले ग्यास व्यवसायलाई मर्यादित बनाउन महासंघ लागिपरेको दाबी गरे ।
मर्ज हुनसक्दैनः व्यवसायी
बैंक तथा वित्तीय संस्थाजस्तो गरी ग्यास बोटलिङ प्लान्ट मर्ज गर्न नसकिने व्यवसायीले बताएका छन् । पेट्रोलियम पदार्थसम्बन्धी ऐन नभएको अवस्थामा सरकारले अचानक मर्जको निर्देशन दिएर उद्योगीलाई त्रासमा पारेको उनीहरुले बताएका छन् । मुख्यसचिव लीलामणि पौडेलले आयल निगमलाई समयसीमा दिएर बोटलिङ प्लान्ट मर्ज गर्न निर्देशन दिएका थिए । ‘सरकारले अहिलेसम्म पेट्रोलियम पदार्थबसम्बन्धी ऐन ल्याएको छैन । तर अचानक व्यवसायीलाई त्रसित बनाउन मर्जको विषय बाहिर आएको छ,’ ग्यास उद्योग संघका महासचिव कुश मल्लीले भने, ‘ग्यास प्लान्ट निजी कम्पनी हो । बैंक तथा वित्तीय संस्थाजस्तो पब्लिक कम्पनी पनि होइन । त्यसैले हावाको भरमा मर्जको विषय उठाउनुको अर्थ छैन ।’ उनले कुनै अध्ययनबिना बोटलिङ प्लान्टको अनुमति दिएको बताउँदै सरकारले आफ्नै निर्णय ढाकछोप गर्न मर्जको मुद्दा बाहिर ल्याएको आरोप लगाए । ‘मुलुकलाई कति बोटलिङ प्लान्ट चाहिएको हो भनेर अध्ययन गरेर अनुमति दिनुपथ्र्यो,’ उनले भने, ‘तर अध्ययनबिना अनुमति दिइयो । अहिले आएर मर्ज गर्न व्यवसायीलाई दबाब दिइँदैछ ।’ मल्लीले निजी सम्पत्तिलाई सरकारले मर्जमा जान दबाब दिन नपाउने बताउँदै बाध्यकारी बनाउन खोज्नु भनेको निरकुंशता लाद्नु भएको टिप्पणी गरे । ‘निजी सम्पत्तिलाई बाध्यकारी बनाएर मर्जरमा लैजाने प्रावधान राज्यनियन्त्रित अर्थ व्यवस्थाका पक्षपाति रहेको मुलुकमा मात्रै हुन्छ,’ उनले भने, ‘ कि सरकारले निजी सम्पति माथि अधिकार छैन भन्नुप¥यो कि निजी सम्पत्तिमा हस्तक्षेप गर्नुभएन ।’ निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले बोटलिङ प्लान्टको मर्जको आसय बुझ्न नसकिएको बताए । ‘मुख्यसचिव पौडेलले मर्जको विषय उठाउनुभएको छ । तर हामीले अझै पनि उहाँको आसय बुझ्न सकेका छैनांै,’ उनले भने, ‘उहाँको आशय बुझेपछि मात्रै मोडालिटीबारे अगाडि बढ्न सकिन्छ ।’ उनका अनुसार बैंक तथा वित्तीय संस्था जस्तो सजिलोसँग मर्जमा लैजान सकिँदैन । ‘निर्देशनबारे वाणिज्य मन्त्रालयसँग बुझेर मोडालिटी बनाउनेछौं,’ अग्रवालले भने । संघका अध्यक्ष हरि पाठकले ग्यास बोटलिङ प्लान्ट मर्जर गर्न धेरै प्राविधिक कठिन रहेको बताए । ‘कम्पनीका बोटलिङ प्लान्ट लगायतका पूर्वाधारमा धेरै लगानी छ । बैंक तथा वित्तीय संस्थाजस्तो कागजमा सम्झौता गरेर मर्ज गर्न सकिँदैन,’ उनले भने, ‘प्राविधिक कठिनाइकै कारण मर्जमा जान जटिलता छ ।’ ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले ग्यासको मर्ज गर्न सबैभन्दा सजिलो रहेको दाबी गरे । ‘ग्यास उद्योगीले बोटलिङ प्लान्टको पूर्वाधारमा धेरै लगानी गरेका छैनन् । जग्गा सबै प्राइम लोकसनमा छ,’ उनले भने, ‘जग्गा बिक्री गर्न गाह्रो छैन । तर पूर्वाधारमा खासै लगानी छैन । त्यसैले प्राविधिक रुपमा कुनै कठिनाइ छैन ।’
No comments:
Post a Comment