काठमाडौं, भदौ ११



'कसैले डलरको फ्युचर कारोबार गर्छ भने त्यो गैरकानुनी हो,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवालीले नागरिकसँग भने, 'अहिले सञ्चालित कुनै पनि एक्सचेन्ज कम्पनीले डलरको सामान्य कारोबार गर्नेसमेत स्वीकृति लिएका छैनन्।'
नेपालका डेरिभेटिभ एक्सचेन्जबारे धितोपत्र बोर्डले गरेको अध्ययनले समेत सबैले डलरको फ्युचर कारोबार गरेको उल्लेख गरेको छ। बोर्डको अध्ययन प्रतिवेदनमा कम्पनी ऐनअन्तर्गत दर्ता भएर एक्सचेन्जले असीमित डलर किनबेच गरेको पाइएको उल्लेख छ। उनीहरुले गर्ने डलरको कारोबारबाट हुने नाफा तथा नोक्सानीको भुक्तानी भने नेपाली रुपैयाँमा नै हुन्छ।
'फ्युचर कारोबार गर्ने वा स्वीकृति नलिई अन्य कारोबार गर्ने सबैलाई बिगो जफत, तीन गुणा जरिवाना र तीन वर्ष कैद हुन्छ,' ज्ञवालीले भने। विदेशी विनिमयसम्बन्धी स्वीकृति, नियमन र कारबाही नेपाल राष्ट्र बैंकमार्फत हुन्छ।
अध्ययनले डलर र अन्य वस्तुको किनबेचबाट पुँजी पलायनसमेत भएको उल्लेख गरेको छ। 'डेरिभेटिभ बजारबाट पुँजी पलायन भएको जानकारीमा आएको छ,' राष्ट्र बैंक स्रोतले भन्यो, 'यसबारे हामी सचेत भएर हेरिरहेका छौं। पुष्टि भए कारबाही हुन्छ।'
सबैभन्दा बढी डलरको किनबेच नेपाल स्पट एक्सचेन्ज लिमिटेड (एनएसई) ले गरेको छ। एक्सचेन्जले अमेरिकी डलरसहित अन्य विदेशी र नेपाली मुद्राको विदेशी विनिमय कारोबार गरेको पाइएको अध्ययनले देखाएको छ।
जबकी एनएसई हाताहाती वस्तुको किनबेच र हस्तान्तरण गर्न सकिने उद्देश्यले खोलिएको कम्पनी हो।
कम्पनीहरुले अन्य वस्तुको कारोबारसमेत डलर मूल्यमै गर्न थालेका छन्। कमोडिटिज एन्ड मेटल एक्सचेन्ज नेपाल लिमिटेड (कोमेन) ले डलर मूल्यमै प्रत्यक्ष कारोबार गरेको छ। मर्कन्टायलले डलर र नेपाली रुपैयाँको विनिमयको स्थिर दर तोकेको छ। नेपाल डेरिभेटिभ एक्सचेन्ज (एन्डेक्स) ले ९० दिनको विनिमय दरको औसत स्थिर मूल्यको आधारमा मूल्य परिर्वतन गरेको छ। उनीहरुले डलरको मूल्य आफूखुसीसमेत तोकेका छन्।
'नेपाल राष्ट्र बैंकले तोक्ने विदेशी विनिमय दरको पालना नगरी आफूखुसी मूल्य तोकेर कारोबार गरिएको छ,' अध्ययनमा छ। नेपालमा ६ वर्षदेखि डेरिभेटिभ एक्सचेन्ज कम्पनी सञ्चालित छन्। तर अहिलेसम्म पनि नियमन गर्ने निकाय छैन।
मर्केन्टायल एक्सचेन्ज (मेक्स) ले विश्वका विभिन्न कमोडिटी कम्पनीसँग सहकार्य गरेर कारोबारसमेत गरिरहेको छ। अध्ययनले पनि यो कुरालाई इंगित गरेको छ। 'कम्पनीले केन्याको बोर्ज केन्या र श्रीलंकाको मेक्स लंकासँग सहकार्यका लागि अन्तिम तयारी गरेको देखिएको छ,' अध्ययनमा भनिएको छ, 'यसले मेक्स नेपालको विश्वका विभिन्न देशमा लगानी रहेको हुनसक्ने तथ्यलाई संकेत गर्छ।'
नेपालमा पुँजी पलायनलाई रोक्न राष्ट्रको पुँजी खाता अपरिवर्त्य राखी विदेशमा लगानीका लागि रोक लगाइएको छ। यसरी रोक लगाएको अवस्थामा अन्य देशका कम्पनीसँग अति संवेदनशील डेरिभेटिभ कारोबारका लागि सहकार्य गर्नु जोखिमपूर्ण रहेको प्रतिवेदनले औंल्याएको छ।
No comments:
Post a Comment